ताप्लेजुङमा मानव बेचबिखनविरुद्धको दिवस मनाइयो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङमा शुक्रवार मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजना तथा चारवटै सुरक्षा निकाय र बिद्यालयहरुको सहभागितामा मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाईएको हो ।
जिल्ला प्रहरी प्रमुख(डिएसपी बेदप्रसाद गौतमले मानव बेचबिखन बिरुद्ध सचेतना र जागरणका अभियानहरु प्रभावकारी हुने ठहर गर्दै आफुहरुले अभिमुखीकरण कार्यक्रम सारेको जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत वीरेन्द्रचौकबाट प्रभातफेरी सुरु गरी नगर परिक्रमा गर्दै पुनःवीरेन्द्र चौकमा आएर कोणसभा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय र यहाँस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका शिक्षक तथा बिद्यार्थीको सहभागितामा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाँई,लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी सहितको सहभागिता रहेको थियो । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो,मानव बेचबिखनको हटाऔँ’दुष्चक्रको जालो’नाराका साथ यो दिवस मनाईदैं छ ।