पुस्तकालय तथा शाक्य स्मृति दिवसमा सृजना बाचन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । १८ औं पुस्तकालय दिवस तथा साहित्यकार जगमोहन शाक्य स्मृति दिवसको अवसरमा बुधवार ताप्लेजुङमा सृजना बाचन तथा साहित्यक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजना,गृह पुस्तकालय अभियान,जिल्ला समन्वय समिति ताप्लेजुङको सहआयोजना तथा यहाँस्थित शाक्य मेडिकल हलको प्रायोजनमा कार्यक्रम भएको हो । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले उक्त अवसरमा साहित्य सर्जकहरुले आ–आफ्नो सृजना गरेको जानकारी दिनुभयो । नेपालमा हरेक बर्षको भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिन्छ । साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसको दिन पारेर पुस्तकालय दिवस समेत संगै मनाउने निर्णय गरी सोहि अनुसार बुधवार उक्त दिवस मनाईएको प्रतिष्ठानका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
यसबर्षको पुस्तकालय दिवसको नारा‘हाम्रो पुस्तकालय,हाम्रो भबिष्य’रहेको थियो । पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ २०६५ साल देखि यो दिवस मनाउने गरिएको छ । बिक्रम् सम्वत् १९९० साल जेठ २६ गते जन्मिनु भएका साहित्यकार जगमोहनको २०६६ साल भदौ १८ गते मृत्यु भएको थियो । स्वर्गीय साहित्यकार शाक्यको बार्षिक पुण्यतिथीको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले जनाएको छ । शाक्यले २०१० सालमा हस्तलिखित कविताद्धारा साहित्य यात्रा सुरु गर्नु भएको थियो । उहाँले २०१५ सालमा ‘उपहार’ कथा संग्रह प्रकाशित गर्नुभयो । २०१८ सालमा ‘बाह्र मसला’कथा संग्रह प्रकाशित गर्दै शाक्यले कृतिको संख्या दोब्बर बनाउनुभयो ।
२०४९ सालमा ‘जिन्दगीका फाँटहरु’प्रकाशित गर्नु भएका शाक्यले २०५८ सालमा गीत र गजलको रुपमा‘ मनका उच्छवबास’प्रकाशित गर्नु भएको थियो । ‘हारेको सपना’कथा संग्रहसहित उहाँका ६ कृति प्रकाशित भए । स्वर्गीय शाक्यका छोरा सुन्दरमोहन शाक्यका अनुसार जीवनको उत्तरार्धमा ‘गौरीशंकर’खण्डकाब्य तयार भएपनि उक्त कृति भने प्रकाशित हुन पाएन । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय सहित साहित्य सजर्क तथा जिल्लास्थित बिशिष्ट व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।