गोल्डकप भन्दा बृहत्त बनाएर खेवाङ खेलकुद महोत्सव गरिदैँ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । गोल्डकप भन्दा बृहत्त र कार्यक्रम समेत थप गरी यसबर्ष सिरिजङ्गा गाउँपालिकाको वडा नं ७ खेवाङमा ‘खेवाङ खेलकुद महोत्सव २०८२’ हुने भएको छ ।

खेवाङ स्पोर्टिङ क्लवको आयोजनामा यसबर्ष शुभ दिपावलीको अवसर पारेर असोज ३० गतेदेखि ‘खेवाङ खेलकुद महोत्सव हुन लागेको क्लवका अध्यक्ष बिनम मावोले जानकारी दिनुभयो । महोत्सव कात्तिक ३ गतेसम्म सञ्चालन हुने समेत उहाँले बताउनुभयो । अघिल्लो बर्ष दोस्रो खेवाङ गोल्डकप भएको थियो । उक्त प्रतियोगिता खेवाङ स्पोर्टिङ क्लवले आयोजना गरेको कार्यक्रममध्ये संस्करणका हिसावले भने सातौं थियो ।

आयोजक क्लवका अध्यक्ष माबोका अनुसार यसबर्ष फुटबल प्रतियोगिताका अलवा हाफ म्याराथन र सांस्कृतिक कार्यक्रम समावेश गरेर गोल्डकपमा सिमित नगरी महोत्सवनै सञ्चालन गर्न लागिएको हो । फुटबल प्रतियोगिता आमन्त्रण नै हुने र ८ टीमलाई सहभागी गराउने तयारी भइरहेको मावोले जानकारी दिनुभयो ।

खेवाङ स्पोर्टिङ क्लवले सिरिजङ्गा गाउँपालिका,निर्वाचित सांसद र सहयोगी दाताहरु समेतको सहयोगमा आफैं जग्गा खरिद गरी खेलमैदान समेत बनाएको छ । दोस्रो खेवाङ गोल्डकपका अवसरमा अघिल्लो बर्ष प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले खेल मैदानको उद्घाटन गर्नु भएको थियो । समापनका बेला कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम प्रमुख अतिथि हुनुहुन्थ्यो । फुटबल,म्याराथन र साँस्कृतिमार्फत खेवाङसहित गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यसपटक ‘खेवाङ खेलकुद महोत्सव आयोजना गरिएको क्लव अध्यक्ष मावोले बताउनुभयो ।

हाफ म्याराथनको दुरी,फुटबल प्रतियोगिताका बिजेताले पाउने पुरस्कार रकम सहितका बिषयमा क्लवले असोज पहिलोसाता फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिने तयारी गरिरहेको क्लवका अध्यक्ष मावोले जानकारी दिनुभयो । दोस्रो खेवाङ गोल्डकप कात्तिक १० देखि १५ गतेसम्म भएको थियो । दोस्रो खेवाङ गोल्डकपका बिजेताले १ लाख ५१ हजार १ सय ११ तथा उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएका थिए ।

 

Similar Posts