चालु बर्षमा तीनजनालाई छात्रबृत्ति उपलब्ध गराउँदै सिरिजङ्गा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाभरीका ३ जनालाई उच्च शिक्षा छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार पालिकाको छात्रबृत्ति ऐन २०७८(संशोधन सहित) तथा चालु आर्थिक बर्षका लागि पालिकाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटका आधारमा माध्यमिक शिक्षा परीक्षा उर्तीण गरी उच्च शिक्षा अध्ययन गर्ने तीन मेधावी बिद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । छात्रबृत्ति प्राविधकि वा अप्रवाधिक गणित र विज्ञान संकायमा प्रमाणपत्र तह वा सो सरहको अध्ययनका लागि उपलब्ध गराईने पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गर्ने सर्बोत्कृष्ट मध्ये खुल्लातर्फ १,महिलातर्फ १ र विपन्न वा जेहेन्दार वा दलिततर्फबाट १ जना गरी तीनजनालाई उच्च शिक्षा छात्रबृत्ति प्रदान गरिने छ ।
छात्रबृत्तिका लागि पालिका भित्रका सामुदायिक बिद्यालयबाट सर्बोत्कृष्ट नतिजा ल्याउने २–२ जना तथा विपन्न वा जेहेन्दार वा दलित १ जनाले भदौ २० गते सम्ममा पालिकामा निबेदन दिनुपर्ने छ । निबेदनका साथ जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ थान,एसईई परीक्षा २०८१ को ग्रेडसिट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि,बिद्यालय र आफु बसेको वडाको सिफारिस पत्र,बाबु र आमाको नागरिकताको प्रतिलिपि र एसईई परीक्षाको प्रवेशपत्रको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने पालिकाले जनाएको छ । पालिकाले सम्वन्धित बिद्यालयबाट सबैभन्दा बढी ग्रेड ल्याउनेलाई खुल्लाको रुपमा औंल्याएको छ । तोकिएका समूहबाट सर्बोत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीले छात्रबृत्ति लिन नचाहेमा सम्वन्धित लक्षित समूहको दोस्रो क्रमका बिद्यार्थीले छात्रबृत्ति प्राप्त गर्ने पालिकाले जनाएको छ ।