समयलाई ख्याल गर्न र आसनग्रहणलाई ‘दुई’मा सिमित गर्न प्रजिअ सेढाँईको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १० । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँईले समयलाई ख्याल गर्न र आसनग्रहणलाई ‘टु सी’मा सिमित गर्न आग्रह गर्नु भएको छ ।
फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजिअ सेढाँईले समयको महत्व बुझ्न नसक्नुलाई ठूलो भुल हुने बताउनु भएको छ । ‘कार्यक्रम निर्धारण गरिएको समयमै सुरु हुनुपर्छ र समयमै सकाउनु पनि पर्छ’प्रजिअ सेढाँईले भन्नुभयो । उहाँले ‘नेपाली टाइम’भन्दै तोकिएको भन्दा ढिलो मात्र सुरु हुने गरेका कार्यक्रम तथा बैठकहरुकै कारण नतिजा प्राप्तिमा कठिनाई हुने गरेको बताउनुभयो । विगतमा समय भन्दा ढिला भएका धेरैवटा कार्यक्रम आफूले छोडेर हिँडेको सेढाँईले भन्नुभयो ।
समयको ख्याल गर्नुपर्ने र निर्धारित समयमै कार्यक्रम सुरु गर्नुपर्ने प्रजिअ सेढाँईको भनाई छ । उहाँले आसन ग्रहणको कार्यक्रमलाई ‘टु सी’ अर्थात् चेयरमेन(अध्यक्षता गर्ने व्यक्ति) र चिफ गेष्ट अर्थात् प्रमुख अतिथिमा सिमित गर्नुपर्ने बताउनुभयो । अरुलाई यथास्थनमै आसन ग्रहण गराएर सम्मान गर्न सकिने प्रजिअ सेढाँईको भनाई छ । यसो गर्ने हो भने खादामाला सहितमा प्रयोग हुने खर्च र समय दुबै बचत हुने उहाँले दावी गर्नुभयो । जनप्रतिनिधिलाई कामलाई तीव्रता दिन आग्रह गर्दै काम गर्ने सवालमा समस्या भए सहजीकरण गर्न राज्यको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारी खटिने सेढाँईले बताउनुभयो ।