सातौं विज्ञापनमा समेत गणित शिक्षक नभेटेपछि पार्टीडाँडाले निकाल्यो आठौं पटक सूचना

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ७ । सातौं पटकको विज्ञापनमा समेत गणित शिक्षक नपाएपछि ताप्लेजुङको मैवाखोलास्थित पार्टीडाँडा मावि फाकुम्बाले आठौं पटक शिक्षक आवश्यकताको विज्ञापन गरेको छ ।
प्रधानाध्यापक गोपालप्रसाद ठाकुरका अनुसार सातौं पटकको विज्ञापनसम्म आफुले खुलाएको शिक्षक विज्ञापनमा कसैले दरखास्त नदिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आठौं पटक शिक्षक आवश्यकताको विज्ञापन गरिएको हो । आठौं पटकको विज्ञापनको म्याद भदौ १३ गतेसम्म रहेको छ । प्रधानाध्यापक ठाकुरले आठौं पटकको विज्ञापन अनुुसार एकजना उम्मेदवार सम्पर्कमा आएको जानकारी दिनुभयो । खुल्ला प्रतिश्पर्धाबाट शिक्षकको पदपूर्ति गरिने भएकोले आवश्यक शैक्षिक योग्यता भएका १९ बर्ष ४० बर्ष ननाघेका नेपाली नागरिकले आबेदन गर्न पाउने बिद्यालयले जनाएको छ ।
माध्यमिक तह तृतीय श्रेणीको गणित शिक्षक पदपुर्तिका लागि विज्ञान बिषयमा स्नातक उर्तीण वा सो सरहको शैक्षिक योग्यता भएको व्यक्ति खोजेको हो । बिद्यालयले मावि संघीय अनुदानबाट तलवभत्ता खुवाउने छ । शिक्षक पदपूर्तिका लागि बिद्यालयलाई गत असार ४ गते मैवाखोला गाउँपालिकाले स्वीकृति दिएको थियो । बिद्यालयले असार ५ गते पहिलोपटक सूचना प्रकाशित गरेको थियो । प्रत्येक पटक ७ दिनको समय दिएर पार्टीडाँडाले शिक्षक विज्ञापन गर्दै आएको छ ।