तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित भएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित भएपनि उक्त कार्यालयमा रहने दरबन्दीसहितको सांगठनिक संरचना कस्तो रहने भन्ने चाँही निर्क्योल नभएको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय स्थापनाको बिषय अघि सरेपछि गत बैशाख तेस्रो साता प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम सहितका सुरक्षा अधिकारी तेल्लोक पुगी स्थलगत अध्ययन र सरोकारवालाको राय समेत लिएको थियो । स्थलगत अनुगमनमा गएको टोलीले इलाका प्रशासन कार्यालयका लागि आवश्यक पर्ने भवन समेतको निरीक्षण गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी शर्माले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सो क्षेत्रका सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता सहितका सेवा प्रवाह तेल्लोकबाटै हुने जानकारी दिनुभयो । सिरिजङ्गा र सिदिङ्वा बाहेक सुरुमा पाथीभरा याङवरक गाउँपालिकाको सिरिजङ्गा सीमा क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह हुने भनिएकोमा उक्त पालिकाको क्षेत्र भने निर्क्योल हुन बाँकी रहेको प्रशासन कार्यालयले जनाएको छ ।

सुरुमा पाथीभरा याङवरकका थुम्बेदिन,चाक्सिबोटे र डुम्रिसेका नागरिकले समेत तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भए उतैबाट सेवा लिन सक्ने सम्भावित सूचीमा राखी सम्वन्धित पालिकासंग समेत समन्वय भएको तर तेल्लोकबाटै सेवा लिने नलिने बारे भने टुङ्गोमा पुगी नसकिएको प्रजिअ शर्माले बताउनुभयो । अहिले ताप्लेजुङका तेल्लोक र दोभानमा इलाका प्रहरी चौकी तथा तेल्लोक र मैवाखोलाको ढुङ्गेसाँघुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

Similar Posts