कीर्तिमानधारी आरोही दम्पतीद्वारा बिद्यालयलाई सहयोग

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ६ । विश्व कीर्तिमानधारी स्लोभेनियाली आरोही दम्पतीले ताप्लेजुङको एक बिद्यालयको बालकक्षा स्तरोन्नतीका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं १ नाङखोल्याङ घर भएका मणि खतिवडासहितका व्यक्ति तथा संस्थाको समन्वयमा स्लोभेनियाली आरोही आन्द्रे र मारिया स्ट्राम्फेलले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १ स्थित महेन्द्र आधारभूत विद्यालयलाई ३ लाख रुपैयाँ सहयोग गर्नु भएको हो । खतिवडाका अनुसार उहाँहरुले पछि पनि आफुहरुले सक्ने सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । दर्जनौं पटक नेपाल भ्रमण गरिसक्नु भएका आन्द्रे र मारिया ताप्लेजुङ र कञ्चनजंघाप्रति मोहित देखिनु भएको छ ।

आन्द्रे र मारियाले केहि समयअघि १ हजार ७ सय किलोमिटर लामो मानिएको पूर्वी नेपालको ताप्लेजुङदेखि पश्चिम नेपालको दार्चुलासम्मको साहसिक पर्यटकीय मार्ग द ग्रेट हिमालयन ट्रेलमध्ये ताप्लेजुङदेखि पश्चिम हुम्लाको हिल्सासम्मको भ्रमण पूरा गर्नु भएको थियो । सोहि साहसिक भ्रमणको यात्रा अनुभवलाई लिएर उहाँहरुले Moc Noci je v svetlobi zvezd यात्रा नामक अनुभूति पुस्तक प्रकाशित गर्नु भएकोे थियो । सोहि पुस्तक बिक्रीबाट प्राप्त भएको रकमको केहि हिस्सा उहाँहरुले ताप्लेजुङको एक बिद्यालयको बालकक्षा स्तरोन्नतीका लागि खर्चिनु भएको छ ।

स्लोभेनियाली आरोही आन्द्रे र मारियाले सन् १९९० मा पहिलोपटक जोडी बनेर विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएकोे थियो । दम्पतिको यो आरोहण विश्व रेकर्ड गिनिज बुकमा समेत दर्ज भएको छ । आन्द्रे र मारियामार्फत आर्थिक सहयोग ताप्लेजुङमा केन्द्रित गर्न पर्यटन व्यवसायी तथा समाजसेवी खतिवडाका साथ स्लोभेनियास्थित नेपाली मानार्थ महावाणिज्यदूत आश्विनकुमार श्रेष्ठ र स्लोभेनियाको जिम्नाजिया क्रान स्कुलले विशेष भूमिका खेल्नु भएको छ ।

खतिवडाले यसअघि आफ्नो जन्मघर रहेको स्थल नाङखोल्याङस्थित सुन्दरमाला आधारभूत बिद्यालयको भवन निर्माण र बरडाँडा आधारभूत बिद्यालयको भवन तथा कक्षाकोठा स्तरोन्नती गर्ने कार्यमा सहयोग गर्नु भएको थियो । उहाँकै पहलमा नाङखोल्याङमा बिशेषज्ञ सहितको स्वास्थ्य शिविर समेत सञ्चालन भएको थियो ।

 

Similar Posts