|

डिर्पाटमेन्ट स्टोर्स र भाटभटेनीसम्मले गर्न थाले पाथीभरामा संकलित नेपाली सिक्काको माग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ५ । डिर्पाटमेन्ट स्टोर्स र भाटभटेनी सहित व्यापारिक प्रतिष्ठानहरुले सफा नेपाली सिक्का माग्न थालेपछि पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा संकलन भएको करिव ३६ क्विन्टल सिक्काको सफाई तथा गणना सुरु गरेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले मन्दिरबाट संकलन भएको नेपाली सिक्का सटहीमा खास समस्या नभएकोले सिक्काको माग डिर्पाटमेन्ट स्टोर्स र भाटभटेनी सहित व्यापारिक प्रतिष्ठानहरुले समेत गर्न थालेको जानकारी दिनुभयो ।

यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुले समेत आफुलाई चाहिने सिक्का माग गर्ने गरेका छन् । सुरुका दिनमा बैंक तथा वित्तीय संस्थामा मात्र जाने गरेको सिक्का अहिले डिर्पाटमेन्ट स्टोर्स र भाटभटेनी सहित व्यापारिक प्रतिष्ठानहरुसम्म पुग्न थालेपछि सिक्का व्यवस्थापनमा खास समस्या नरहेको क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिरबाट संकलन भएको सिक्कालाई पाथीभरा क्षेत्र विकास समितिको फुङलिङस्थित कार्यलय परिसरमा रहेको उपकरणमार्फत धोएर सफा र चमकदार बनाई गणना गरेर प्याकिङ गरिन्छ । धोएर गणना गरी प्याकिङ गरिएको सिक्काको माग ब्यापारिक प्रतिष्ठानहरुबाट समेत आउन थालेकोले सिक्काको व्यवस्थापन सहज भएको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे बताउँनुहुन्छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङका अनुसार मन्दिरमा संकलन भएकोमध्ये ९ लाख २० हजार रुपैयाँ बराबरको सिक्का संकलन गरी सदरमुकाम फुङलिङ ल्याई धोएर गणना गरिएको छ । गत साउन महिनामा ४ लाख ९० हजार रुपैयाँ बराबरको सिक्का गणना गरिएको छ । करिव १० महिनाको अवधिमा पाथीभरा मन्दिरबाट झण्डै ३६ क्विन्टल सिक्का संकलन गरिएको क्षेत्र विकास समितिले जनाएको छ ।

Similar Posts