मैवाखोला गाउँपालिकाले एक सर्बोत्कृष्ट प्रअ तथा तीन उत्कृष्ट शिक्षकलाई बर्षेनी पुरस्कृत गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । सार्वजनिक शिक्षा सुधारको अभियान अघि बढाईरहेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक बर्ष पालिकाभरीका एक उत्कृष्ट प्रधानाध्यापक तथा तहगत आधारमा तीन उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।
सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारको अभियानलाई सार्थकता दि तहगत उत्कृष्ट शिक्षक छनौट न,शिक्षण पेशालाई व्यवस्थित,प्रतिश्पर्धी र नतिजामुखी बनाउन पालिकाले यस्तो कार्यको थालनी गरेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले त्यसका लागि उत्कृष्ट प्रअ तथा उत्कृष्ट शिक्षक छनौट सम्वन्धी मापदण्ड बनाई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । पालिका अध्यक्ष वनेमका अनुसार मैवाखोला गाउँपालिका भित्रमा सम्पूर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापकमध्येबाट सर्बोत्कृष्ट एकजना प्रधानाध्यापकलाई २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ । यस्तै कक्षा १–५,कक्षा ६–८ र कक्षा ९–१२ मा अध्यापनरत शिक्षकमध्येबाट उत्कृष्ट हुने एक–एकजना गरी ३ जनालाई शिक्षकलाई जनही नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिने पालिकाले बनाएको मापदण्डमा उल्लेख गरिएको छ ।
उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षक छनौटका लागि गाउँ शिक्षा समितिले तथ्याङ्क संकलन,मूल्याङ्कन एवम् सम्भावित नाम सिफारिस गर्न पालिकाको सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृत वा शिक्षा शाखाका प्रमुख सदस्य रहेको समिति बन्ने भएको छ । उत्कृष्ट प्रधानाध्यापक छनौट गर्दा अन्तिम कक्षाका बिद्यार्थीको औसत सिकाई उपलब्धीलाई २० अंक,उपस्थिति र नियमिततालाई ५ अंक,योजना निर्माण र कार्यान्वयनलाई १० अंक,शैक्षिक योग्यता,तालिम र अनुभवलाई ५ अंकभार दिएर मूल्याङ्कन गरिने छ । यस्तै नेतृत्व,सुशासन र टिम व्यवस्थापनमा १० अंक,शैक्षिक तथा भौतिक व्यवस्थापनमा १० अंक,बालमैत्री बिद्यालयमा १० अंक र समग्र कार्य सम्पादनमा ३० अंकभार रहने मापदण्डमा उल्लेख गरिएको छ ।
तहगत उत्कृष्ट शिक्षक छनौट गर्दा अध्यापन गरेको मुख्य बिषयको बिद्यार्थीहरुको औसत सिकाई उपलब्धीमा २५ अंक,उपस्थिति र नियमिततामा ५ अंक,अनुशासन,परिचयपत्र,पोशाक,कक्षा कोठामा बिताउने समय पालना र शिक्षकको सिकाई सृजनशीलतामा आधारित रहेर प्रधानाध्यापकले गर्ने मूल्याङ्कनका आधारमा दिइने १० अंकभारका आधारमा मूल्याङ्कन गरिने छ । यस्तै विद्यालय व्यवस्थापन समितिको मूल्याङ्कनबाट ५ अंक र १० वटा सूचकका आधारमा पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाबाट मूल्याङ्कन हुनेगरी ६० अंकभारमा आधारमा तहगत उत्कृष्ट शिक्षक छनौट गरिने मापदण्ड बनेको छ । पुरस्कारका लागि वाल विकास सहजकर्ता समेतलाई आधार बनाइने भएको छ ।