ताप्लेजुङमा तिजको रमझम सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ३ । हरितालिका तिज पर्व भित्रिएसँगै ताप्लेजुङमा शुभकामना आदानप्रदानसहित तिजको रमझम सुरु भएको छ । विभिन्न भातृ संगठन, संघ संस्था र समूहमा आवद्ध महिलाहरुले शुभकामना आदानप्रदान गर्ने, दर खाने लगायतका कार्यक्रमहरु सुरु गरेका हुन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले तिजको अवसरमा सदरमुकाम फुङ्लिङमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महिलाबिच आपसी सम्बन्ध सुदृढ गर्ने, सहकार्य र सामाजिक भावनामा एकता कायम गर्ने साथै सबैखाले चाडपर्व तथा उत्सवहरुमा साझा र सामूहिक सहभागिताको सन्देश प्रवाह गर्ने उद्देश्यले तिजको अवसरमा कार्यक्रम आयोजना गरिएको अनेम संघ (क्रान्तिकारी) ले जनाएको छ ।
क्रान्तिकारीकी जिल्ला इन्चार्ज मनु मादेन लिम्बूका अनुसार विभिन्न जाति, समुदाय, संगठनमा आवद्ध लगायतका महिलाबिच भातृत्व कायम गर्ने, आपसी सम्बन्ध सुदृढ गर्नेजस्ता उद्देश्य राखेर शुभकामना आदानप्रदानको कार्यक्रम गरिएको हो । तिजको अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै दर (खानाका परिकार) खाएर खुशीयाली साटासाट गरिएको मादेनले बताउनुभयो ।
यस्तै कार्यक्रमका अवसरमा सहिद परिवारलाई सम्मानसमेत गरिएको छ । अनेम संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सीता दाहाल (भट्टराई) का अनुसार सहिद तीर्थ नेपालकी चेली लक्ष्मी नेपाल, सहिद भरत नेपालका बुहारी मैयादेवी न्यौपानेलाई सम्मान गरिएको छ । त्यस्तै सहिद बसन्त पौडेलकी चेली हरिमाया गुरागाई, खड्ग कटुवालकी भाउजु रमला कटुवाल र सहिद खड्ग माबो लिम्बूकी श्रीमती दिलकुमारी लावतीलाई सम्मान गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा मनोरञ्जनात्मक गीत, संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, बुद्धिजीवी संगठनका कोशी प्रदेश समिति सदस्य तथा पाथीभरा क्याम्पसका प्रमुख सजन पौडेलसहित महिला संगठनका विभिन्न तहका नेतृत्व, अन्य संघ संस्थाका प्रतिनिधि लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।