ताप्लेजुङमा बर्षदिनमा थपिए ४ सय १७ नयाँ रोजगार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २२ । उद्योग र वाणिज्य क्षेत्रमा नयाँ उद्यम र उद्यमी थप भएसंगै आर्थिक बर्ष २०८१।८२ मा ताप्लेजुङ थप ४ सय १७ जनाले नयाँ रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार आव २०८१।८२ मा २ सय ३० पुरुष र १ सय ८७ महिलामा नयाँ रोजगारी सृजना भएको छ । उक्त आवमा ५३ पुरुष र ५० महिला गरी कुल १ सय ३ नयाँ उद्यमी थप भए । उद्यम र उद्यमी थप भएसंगै नयाँ रोजगार पाउनेको संख्या भने बृद्धि भएको घरेलु कार्यालयले जनाएको छ । आव २०८१।८२ मा जम्मा ९२ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार सबैभन्दा बढी उद्योग कृषि तथा वनजन्य दर्ता भएका छन् ।
कृषि तथा वनजन्यतर्फ ४९ उद्योग दर्ता हुँदा पर्यटनतर्फ १६,सेवामुलक १५,निर्माणतर्फ ७,उत्पादनमुलक ३ र सूचना प्रविधिमुलक २ उद्योग दर्ता भएका छन् । आव २०८१।८२ मा उर्जामुलक र खनिजजन्यतर्फका उद्योग भने दर्ता भएनन् । भट्टराईका अनुसार आव २०८१।८२ सम्ममा ताप्लेजुङमा उद्योगतर्फ २ हजार ३ सय १५ र वाणिज्यतर्फ ८ सय ७९ उद्योगको दर्ता अभिलेख देखिन्छ । उक्त आवमा १ सय ८४ उद्योगको नविकरण भएको छ । २ वटा उद्योगको ठाउँसारी तथा ५ वटा उद्योगले उद्देश्य थप गर्दा ७ वटाले पुँजीबृद्धि र ८ वटाले नाम परिवर्तन गरेका छन् । १ करोड ७६ लाख रुपैयाँ बराबरको पुँजी थप भएको घरेलु कार्यालयले जनाएको छ । उक्त आवमै उद्योग प्रशासनतर्फ ६ वटाको नामसारी,८ वटाको लगत कट्टा,१ उद्योगका लागि सुविधा सिफारिस र अन्य एक सिफारिस दिईएको छ ।
घरेलु कार्यालयले आव २०८१।८२ मा १७ लाख ७ हजार ६ सय ४३ रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयका अनुसार प्रशासनिक शुल्कवापत ३ लाख ६५ हजार १ सय,व्यवसाय रजिष्ट्रेशन दस्तुर वापत ११ लाख ८३ हजार ८ सय ५० र अन्य विक्रीबाट १ लाख ५८ हजार ६ सय ९३ रुपैयाँ असुल भएको छ । आव २०८१।८२ मा ६१ जनालाई उपयुक्त प्रविधि सहयोग गरिएको छ भने १२ वटा शीर्षकका २० वटा तालिमबाट ३ सय १७ जनालाई बिभिन्न किसिमको सीप हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ ।