फक्ताङलुङका अध्यक्षको मासिक पारिश्रमिक यसबर्षबाट असाहाय र अपाङ्गता भएका बालबालिकाको पढाईमा खर्च हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पाउने पारिश्रमिक वापतको अहिलेसम्मको करिव साढे १५ लाख बढी रकम असाहायक र अपाङ्ग बालबालिकाको आवासीय छात्रबृत्तिका लागि खर्च हुने भएको छ ।
पालिकाले चालु आर्थिक बर्ष २०८२।८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा अध्यक्षले प्राप्त गर्ने मासिक सुविधा वापत हालसम्म १५ लाख ५९ हजार ९ सय २० रुपैयाँ रकम रहेको र उक्त रकम पालिकाभित्र रहेका अभिभावकविहिन,असाहाय र अपाङ्गता भएका बालबालिकाको पढाईका लागि आवसीय छाबृत्तिमा खर्च हुने उल्लेख गरिएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष लिम्बूले निर्वाचनताका आफुले निर्वाचन जिते आफुले मासिक पारिश्रमिक नलिने घोषणा गर्नु भएको थियो । सोहि प्रतिबद्धता अनुसार पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक वापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था खोली सोहि संस्थाको खातामा जम्मा गरिदैं आएको पालिकाले जनाएको छ ।
पालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत उक्त रकम वापतको कार्यक्रम बनाई चालु आर्थिक बर्षदेखि पालिकाभित्र रहेका अभिभावकविहिन,असाहाय र अपाङ्गता भएका बालबालिकाको पढाईका लागि आवसीय छाबृत्तिमा खर्च गर्ने बैधानिक आधार दिएको छ । फक्ताङलुङले चालु बर्षमा फक्ताङलुङ गाउँपालिका भित्र रहेका प्रमुख पर्यटकीय स्थलहरुको प्रवद्र्धन र प्रचारप्रसार गर्न प्रमुख पर्यटकीय स्थल ओलाङचुङगोलामा पर्यटन महोत्सव आयोजना समेत गर्ने भएको छ ।
पालिकाले अन्तरपालिका स्तरीय फक्ताङलुङ गोल्डकप तथा साँस्कृतिक महोत्सव समेत यसैबर्ष आयोजना गरिने पालिकाले जनाएको छ । पालिकाले फुटबल र भलिबल बिधाका एक–एकजना प्रशिक्षकलाई सेवा करार गरी पालिकाभरी प्रशिक्षणमा खटाउने भएको छ । पालिकाभरीका दुई बिद्यालयलाई पालिका नमूना बिद्यालय छनौट गर्ने तथा प्राविधिकधारतर्फ इलेक्ट्रोनिक ईञ्जिनियरिङ पढाई रहेको सिँवा माध्यमिक बिद्यालयमा फक्ताङलुङ ठेगाना भएका बिद्यार्थीलाई निःशुल्क र सो भन्दा बाहिरबाट आउनेलाई ५० प्रतिशत छुटमा पढाउने व्यवस्था समेत फक्ताङलुङले गर्ने भएको छ ।