| |

काबेली–३ आयोजनाको उत्पादन परीक्षण सुरु

-प्रयास लिम्बू
ताप्लेजुङ, साउन २० । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली–३ क्यासकेट जलविधुत आयोजनाको उत्पादन परीक्षण उत्पादन सुरु गरिएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको २१.९३ मेगावाट क्षमताको आयोजनाको उत्पादन परीक्षण मंगलबारदेखि सुरु भएको हो ।
आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुंगानाका अनुसार २०७९ साल माघ ५ गतेबाट काम सुरु भई आयोजना निर्माण कार्य सम्पन्न भएसँगै विधुत उत्पादनको परीक्षण सुरु गरिएको हो । मंगलबारदेखि सुरु भएको उत्पादन परीक्षण सफल भएपछि औपचारिक रुपमा आयोजनाको विधुत उत्पादन सुरु हुने सम्पर्क अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।
काबेली–३ को आयोजनास्थल सिरिजंघा गाउँपालिका–५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेबाङमा पर्दछ । कुल चार अर्ब २८ करोड ५० लाख एक हजार रुपियाँ बजेटको लागतमा निर्माण सम्पन्न गरिउको आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणको पाँचथरको हिलिहाङ गाउँपालिकास्थित १३२ केभीए क्षमताको अमरपुर दुवीचौर सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
आयोजनाको उत्पादित विधुत अमरपुर सव–स्टेशनसम्म पु¥याउन पेदाङ पुछार खोलाखेतमा रहेको विद्युत गृहदेखि ३१ वटा टावर पोल (खम्बा) मार्फत प्रसारण लाइन जडान गरिएको छ । यस्तै आयोजनाको संरचनाहरुमा भने मामाङ्खे र खेबाङको सिमानास्थित ओथम्मा गहिरीमा रहेको मुहानदेखि पाँच हजार १४०.२ मिटर लामो सुरुङमार्फत पानी ल्याएर विधुत गृहमा खसालिएको ढुंगानाले बताउनुभयो ।
त्यस्तै आयोजनाको कुल लागत बजेटमा एनएमवी बैंकको नेतृत्वमा प्रभु र नविल बैंक लिमिटेडको ७५ प्रतिशत लगानी रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ प्रतिशत प्रवर्द्धक कम्पनीको स्वपुँजीबाट लगानी रहेको छ । काबेली–३ बाहेक यस क्षेत्रमा यसअघि १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेली जलविधुत आयोजनासमेत निर्माण भइसकेका छन् ।

Similar Posts