विपद् व्यवस्थापन समितिको बैठक रानीपुलका बारेमा केन्द्रित,नयाँ ट्रयाक बारे केसिएएमसीको असहमति

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १९ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले फक्ताङलुङ गाउँपालिकाको रानीपुल भएको क्षेत्रमा बेलिब्रिज निर्माण गर्न उक्त क्षेत्रमा सञ्चालित जलविद्युत परियोजनाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बेलिब्रिज निर्माण नभईञ्जेलसम्मका लागि तमोर–५ जलविद्युत आयोजनाद्धारा निर्माण भई सञ्चालन उपयुक्त रहेको पुललाई ताम्मावा देखि फेम्बो जोड्ने माध्यम बनाउन करिव अढाई किलोमिटर क्षेत्रमा नयाँ ट्रयाक खोल्ने समेत निर्णय लिएको छ । नयाँ ट्रयाक खोल्ने उक्त निर्णयमा कानुनी अड्चन रहेको तथा उक्त क्षेत्र पुरानो बाढी पहिरो गएको क्षेत्र समेत भएकोले जोखिम हुने भन्दै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले भने असहमति जनाउनु भएको छ ।

फेम्बु जिल्ला विपद् व्यवस्थापन समितिको उक्त निर्णयमा हस्ताक्षर नगरी बैठक हलबाट बाहिरिनु भएको छ । आफुहरुले व्यवस्थापन कार्ययोजना बनाउने र त्यसमा समावेश गरी उक्त प्रकृया अघि बढाउने फेम्बोको तर्क थियो । बैठकमा उपस्थित फुङलिङ नगरप्रमुख अमिर मादेन,फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) र पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा सहित सरोकारवालाले रानी पुल बगाएपछि उत्तरी क्षेत्रमा यातायात संकटको अवस्था रहेको र नयाँ ट्रयाक खोलेर भएपनि तत्कालै नागरिकलाई सेवा पु¥याउनुपर्ने भएकोले संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले यस कार्यमा तत्काल सहयोग गर्नुपर्ने आग्रह गर्नु भएको थियो ।

बैठकमा पाँचथर र ताप्लेजुङ जोड्ने काबेली खोलामाथि रहेको बाँकी बेलिब्रिज फक्ताङलुङ गाउँपालिकाको जोङिगनमा केन्द्रित गर्ने बारे समेत छलफल भएको छ । यसअघि उक्त बेलिब्रिजको आधा भाग सुकेपानी क्षेत्रमा केन्द्रित गरिएको छ । बैठकले सम्भाव्य विपद्लाई मध्यनजर गरी सबै स्थानीय तहमा न्यूनतम् उद्धारका सामग्रीको उपलब्धताको व्यवस्था मिलाई खाद्य तथा गैर खाद्या जीवन निर्वाहका बस्तुहरु उपलब्ध हुनसक्ने भरपर्दो व्यवस्था गरी विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्ने समेत निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । बैठकले पछिल्लो समय विपद्का कारण जिल्लामा भएका बिभिन्न क्षतिका बारेमा छलफल समेत गरेको छ ।

Similar Posts