ताप्लेजुङका ४४ वटा वडा बाढी पहिरोको उच्च जोखिममा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १८ । ताप्लेजुङका ६१ वटा वडामध्ये ४४ वटा वडा बाढी र पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले चालु आवका लागि तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भएअनुसार फुङलिङ नगरपालिकाको वडा नं २ र ५ मात्र बाढी र पहिरोको न्यून जोखिममा देखिएका छन् । स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् स्थानीय तहका प्रमुख सहितका विपद् व्यवस्थापन तथा प्रतिकार्यमा प्रत्यक्ष संलग्न हुने निकायका प्रतिनिधि समेत सहभागी भई विपद्का दृष्टीले उच्च जोखिम,मध्य र न्यून जोखिम क्षेत्रको सूची तयार पारिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
शर्माका अनुसार सिरिजङ्गा गाउँपालिकाका ८ वटै वडा,सिदिङ्वा गाउँपालिकाका ७ वटै वडा र पाथीभरा याङवरकका ६ वटै वडा बाढी पहिरोको उच्च जोखिममा देखिएका छन् । यस्तै फुङलिङ नगरपालिकाको १,६,८,९,१० र ११,फक्ताङ गाउँपालिकाको १,२,३ र ५,मिक्वाखोला गाउँपालिकाको १,२,३ र ४,मेरिङदेन गाउँपालिकाको १,२,३,४ र ६,मैवाखोलाको ४ र आठराई त्रिबेणी गाउँपालिकाको १,२ र ५ नम्बर वडा बाढी तथा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
व्यवस्थापन समितिले तयार पारेको सूची अनुसार सूची अनुसार फुङलिङको वडा नं ३,४ र ७,फक्ताङलुङ गाउँपालिकाको वडा नं ४,६ र ७,मिक्वाखोला गाउँपालिकाको वडा नं ५,मैवाखोला गाउँपालिकाको वडा नं १,२,३,५ र ६ तथा आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ र ४ बाढी पहिरोको मध्य जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागी र खडेरीका हिसावले जोखिममा रहेका यहाँका वडाहरु समेत वर्गिकरण गरेको छ । आगलागीका दृष्टीले भने फुङलिङमा फुरुम्बु र फावाखोला बाहेक बाँकी सबै वडा,सिरिजङ्गा गाउँपालिकामा सिनाम र तेल्लोक,सिदिङ्वा गाउँपालिकामा सादेवा,साब्लाखु र मेहेलेलाई उच्च जोखिम सूचीमा समेटिएको छ ।
पाथीभरा याङवरकका ६ वटै वडा,फक्ताङलुङ गाउँपालिकाका ७ वटै वडा,मैवाखोला गाउँपालिकाका ६ वटै वडा,आठराई त्रिबेणी गाउँपालिकाका ५ वटै वडा आगलागीका दृष्टीले उच्च जोखिम क्षेत्रको सूचीमा राखिएको छ । मेरिङदेन गाउँपालिकाको वडा नं ४ लिङतेप र मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवा भने आगलागीका दृष्टीले मध्यम जोखिममा देखिएका छन् । खडेरीको जोखिमका हिसावले फुङलिङको वडा नं ५,मैवाखोलाको वडा नं ३ र आठराई त्रिबेणीको वडा नं ४ र ५ न्यून जोखिममा छन् । बाँकी वडा सबै मध्यम र उच्च जोखिममा देखिएका छन् । खडेरीका दृष्टीले यहाँका ६१ वटा वडामध्ये ४ वटा वडा न्यून जोखिम,१७ वटा वडा मध्यम जोखिम र ४० वटा वडा उच्च जोखिममा देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।