दोभान घटना:कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा २० बर्ष कैद सजाय सुनाईएका व्यक्ति १३ बर्षपछि पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १६ । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा २० बर्ष कैद सजाय सुनाईएका व्यक्ति १३ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा मेरिङदेन गाउँपालिका वडा नं २ साविक सान्थाक्रा गाउँ विकास समिति वडा नं ९ का २८ बर्षिय सुवास लिम्बू रहेका छन् । सुवासलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ताप्लेजुङ जिल्ला अदालतले २०७१ साल असोज ३१ गते जन्मकैद हुने ठहर गरेको थियो । वारदात पश्चात फरार रहेका सुबास भारतको बैङलोर,हैदरावाद,चेन्नेइ सहितका बिभिन्न ठाउँमा लुकिछिपी बस्ने गरेको आधारमा प्रहरीले खोजतालस जारी राखेको थियो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले खोजतलासको उच्च सूचीमा राखी आवश्यक अनुसन्धान जारी राखिएकोमा उनी ताप्लेजुङ आएको गोप्य जानकारीका आधारमा साउन १६ गते फुङलिङ बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको जानकारी दिनुभयो । ‘हामीले खोजतलास जारी नै राखेका थियौं,गोप्य सूचना र जानकारीका आधारमा फरार प्रतिवादीलाई १३ बर्षपछि पक्राउ गर्न सकेका छौं’डिएसपी गौतमले भन्नुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका सुवास माथि २०६९ साल असोज १० गते दोभान बजारमा खटिएको गस्ति टोलीमाथि आक्रमण गरी एकजनाको हत्या गरेको तथा प्रहरीको हतियार समेत खोसी लगेको अभियोग छ । २०६९ साल असोज १० गते दोभान बजारमा सुवास सहितका १०–१२ जनाले मादक पदार्थ सेवन गरी अनावश्ययक होहल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गन्तव्यतर्फ पठाउन कोसिस गरेकोमा निज सुवास सहितका व्यक्तिहरुले गस्तिमा रहेका प्रहरी टोली माथि धारिलो हतियार खुकुरी,चुप्पी,तरवार र भाला समेतमा जोखिमी हतियारले आक्रमण गरी डिउटीमा खटिएका प्रहरी जवान भूपाल आचार्यको हत्या गरेको प्रहरीले दिएको जानकारीमा भनिएको छ । उक्त क्रममा डिउटीमै रहेका अर्का प्रहरी जवान चन्द्र देवानलाई गम्भिर घाइते बनाई प्रहरी टोलीको ३०३ राइफल समेत लुटेर लगेको अभियोग सुवास सहितका व्यक्ति माथि रहेको छ । सुवासलाई अदालतले दोषी ठहर गरिसकेको छ । पक्राउ परेका सुवासलाई जिल्ला अदालतमा पेश गर्दा उक्त कैद भुक्तानका लागि निजलाई कैद पुर्जी दिई जिल्ला कारागार ताप्लेजुङमा पठाईएको प्रहरीले जनाएको छ ।

Similar Posts