| |

ढङ्ढङगे झरनाको भिडियो सामग्री बनाई सामाजिक सञ्जालमार्फत प्रचार गर्नेलाई पुरस्कृत गरिँदै

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङ्ढङगे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ । जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङ्ढङगे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो ।
सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा ढङ्ढङगे झरना रहेको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास तथा स्थापित भइरहेको उक्त ढङ्ढङगे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सञ्जाल प्रयोगकर्तालाई वडा कार्यालयले नगदसहित सम्मान गर्ने भएको हो ।
वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत उत्कृष्ट फोटो, भिडियो र टिकटक सामग्री बनाई ढङ्ढङगे झरनाको प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गर्ने उल्लेख गरिएको छ । लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार ढङ्ढङगे झरनाको उत्कृष्ट भिडियो सामग्री निर्माण गरी प्रचार गर्ने एक जनालाई २० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिने भएको छ ।
वडाध्यक्ष लिम्बूका अनुसार ढङ्ढङगे झरना र सो क्षेत्रको रमणीय दृश्य समेटिएको कम्तीमा एक मिनेटको उत्कृष्ट भिडियो सामग्री बनाई प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता, व्यक्ति, पेज वा समूह (ग्रुप) लाई छनोट गरी पुरस्कृत गरिने छ । ढङ्ढङगे झरनाको प्रवर्धन र थप विकास गर्नमा टेवा पु¥याउने उद्देश्य राखेर ढङ्ढङगेको प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गर्न लागिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
यता पुरस्कारका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले आउँदो साउन २५ गतेसम्म आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको ढङ्ढङगे झरनासम्बन्धी भिडियो सामग्री वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने छ । तोकिएको समयावधिभित्र उपलब्ध गएका भिडियो सामग्रीमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने वडा कार्यालयले जनाएको छ । पछिल्लो समय ढङ्ढङगे झरना अवलोकन गर्न जाने पर्यटकको भीड बढ्दै गएको छ ।

Similar Posts