जनताका मागलाई सम्बोधन गर्दै पाथीभरा याङवरक,फुङलिङ लगेर राष्ट्रिय परिचयत्र बनाइदिन थालियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ११ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम लगेर परिचयपत्र बनाइदिन थालेको छ ।
पालिकाले आयोजना गरेको आर्थिक बर्ष २०८१।८२ सार्वजनिक सुनुवाईका क्रममा नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनका लागि समस्या झेलिरहेका नागरिकका लागि पालिकाले सहजीकरण गर्नुपर्ने माग गरेका थिए । सोहि मागको सम्बोधन गर्दै पालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम फुङलिङ लगेर राष्ट्रिय परिचयपत्र बनाउन थालिएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाले नागरिकको माग र पालिकाको योजना तथा कार्यक्रम अनुसार राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकलाई सदरमुकाम लगि परिचयपत्र बनाउन सहजीकरण गर्न थालिएको जानकारी दिनुभयो ।
वडा नं २ थेचम्बुका नागरिकहरुबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सहजीकरण गर्न थालिएको छ । पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार पालिकाका ६ वटै वडाका राष्ट्रिय परिचयपत्र बनाउन बाँकी जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकको राष्ट्रिय परिचय पत्र बनाउन पालिकाले चालु आवमा बजेट राखेको छ । पालिकाले सम्वन्धित वडाका वडाध्यक्षको नेतृत्वमा परिचयपत्र बनाउन बाँकी रहेका लक्षित समूहका व्यक्तिहरुको पहिचान गरी पालिकाकै खर्चमा सवारी साधनको प्रवन्ध गरी सदरमुकाम फुङलिङमा लगेर परिचयपत्र बनाइदिने कार्यको सहजीकरण गर्ने प्रवन्ध गरेको छ । पालिकाका नागरिकले सार्वजनिक सुनुवाईका क्रममा पालिकाको केन्द्र थेचम्बु पुग्नु भएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई राष्ट्रिय परिचयपत्र बनाउने कार्यका लागि घुम्ति शिविरको माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले सम्वन्धित व्यक्तिको बायोमेट्रिक समेत लिनुपर्ने भएकोले राष्ट्रिय परिचयपत्रका लागि तत्कालै घुम्ति शिविर राख्न नसकिने जवाफ दिएपछि पालिकाले सदरमुकाम फुङलिङ पुगेर परिचयपत्र बनाउनका लागि आउने जाने खर्चको प्रवन्ध पालिकाबाट गर्दै जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकको राष्ट्रिय परिचयपत्रका लागि बजेटको प्रवन्ध गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ । पालिका अध्यक्ष सुब्बाले पालिकाका ६ वटै वडाका लक्षित समूहका नागरिकले उक्त सेवा पाउनेमा ढुक्क रहन नागरिकलाई आग्रह गर्नु भएको छ ।