ताप्लेजुङमा १ करोड ५५ लाख बढीको खाद्यको चामल बिक्री

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ११ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक बर्ष २०८१।८२ मा १ करोड ५५ लाख बढीको चामल बिक्री गरेको छ । उसले आव २०८०।८१ को तुलनामा आव २०८१।८२ मा बढी परिमाणको चामल बिक्री समेत गरेको छ ।
कार्यालयका सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार कार्यालयले आव २०८१।८२ मा १ हजार ३१.७५ क्विन्टल स्टिम जिरा मसिनो तथा ९ सय ६ क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको छ । आव २०८१।८२ मा स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ९ हजार ४ सय रुपैयाँ तथा सोना मन्सुली चामल प्रति क्विन्टल ६ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो । कार्यालयले ९६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ बराबरको स्टिम जिरा मसिनो तथा ५८ लाख ८९ हजार रुपैयाँको सोना मन्सुली चामल बिक्री गरेको छ ।
दुबै प्रकृतिको गरी कार्यालयले आव २०८१।८२ मा कुल १ करोड ५५ लाख ८७ हजार ४ सय ५० रुपैयाँको चामल बिक्री गरेको कार्यालयका सूचना अधिकारी यादवले बताउनुभयो । उहाँका अनुसार आव २०८०।८१ मा भन्दा आव २०८१।८२ मा चामलको बिक्री परिमाणमा समेत बृद्धि भएको छ । आव २०८०।८१ मा कार्यालयले १ हजार २२.७५ क्विन्टल स्टिम जिरा मसिनो र ६ सय ६६.३० क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको समेत सूचना अधिकारी यादवले बताउनुभयो ।