सिदिङ्वामा वडा वडामै पाउन थाले गर्भवती महिलाले गर्भ परीक्षण गराउने सुविधा

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडा–वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि उनीहरुले वडाबाटै सेवा पाएका हुन् ।
सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदै आएको छ । गाउँपालिकाले वडा वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२-८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहका अनुसार नयाँ आर्थिक वर्षको सुरुमै अर्थात साउन ४ देखि ८ गते बिहीबारसम्म वडा वडामा शिविर सञ्चालन गरिएको छ । वडा वडामा पुगेर सञ्चालित शिविरमार्फत पालिकाभित्रका ३९ जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेका शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी वडा ७ सुरुम्खिममा १२ जना गर्भवती महिलाले शिविरमार्फत गर्भ परीक्षण गराएका छन् । यस्तै वडा २ सादेवा र वडा ३ आङ्खोपमा नौ–नौ जना, वडा ६ मेहेलेमा पाँच जना र वडा ५ लिम्बुदिनमा चार जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेका छन् । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार वडा १ कालिखोलामा रहेका तीन जना गर्भवती महिला गाउँबाहिर भएकाले उहाँहरु गर्भ परीक्षण सेवाबाट छुट्नुभएको छ ।
त्यस्तै गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखुमा रहेका गर्भवती महिलाले भने साब्लाखु स्वास्थ्य चौकीमार्फत नै सेवा लिने हुँदा सो वडामा शिविर सञ्चालन नगरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभरिका गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी वडा वडामै घुम्ती शिविर सञ्चालन गरेर गर्भ परीक्षण सेवा प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।