ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै,याम्फुदिनको थुङगिम क्षेत्र उच्च जोखिममा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७ । तल्लो क्षेत्रमा कम मात्र बर्षा भइरहेको ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै गएका छन् ।

मंगलवारबाट भइरहेको बर्षासंगै सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको कञ्चनजङ्घा टोल(थुङ्गिम क्षेत्र) उच्च जोखिममा देखिएको छ । काबेली खोला र तुम्याखोलामा आएको बाढीका कारण अति जोखिममा रहेका थुङ्गिम क्षेत्रका देउबहादुर लिम्बूको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वडाध्यक्ष कृष्णकुमार गुरुङले काबेलीखोला र तुम्याखोला वारीपारी बाढीको उच्च जोखिम रहेकोले प्रभावित क्षेत्रका नागरिकलाई सम्बेदनशिल भइदिन आग्रह गर्नु भएको छ । अति जोखिम क्षेत्रका बासिन्दालाई नजिकको सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण हुन र कुनै समस्या परे तत्कालै वडाका जनप्रतिनिधि,नजिकको प्रहरी कार्यालय र स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न वडाध्यक्ष गुरुङले आग्रह गर्नु भएको छ ।

सिरिजङ्गा गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् सम्पर्क व्यक्ति(फोकल पर्सन)मनोज उप्रेतीले याम्फुदिन क्षेत्रको उक्त अवस्था बारे जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराईसकेको बताउनुभयो । सिरिजङ्गा गाउँपालिकाले याम्फुदिन क्षेत्रको पछिल्लो विपद् अवस्था बारे जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराइसकेको बताएको छ । वडाध्यक्ष गुरुङलाई उधृत गर्दै पालिकाले जनाए अनुसार काबेली खोला कटानले कञ्चनजंघा मावि याम्फुदिन,वडा कार्यालय,स्वास्थ्य चौकी लगयातका भवन सहित पूरै बस्ति उच्च जोखिममा रहेको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने स्वास्थ्यकर्मी कर्मचारी लगायत अन्य स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको र कतिपय आफैं जोखिमको पूर्व मूल्याङ्कन गरी सुरक्षित स्थानमा सरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । मंगलवार राति फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने तमोर नदी माथि रानीपुलमा रहेको बेलिब्रिज बाढीले बगाएको छ । बेलिब्रिज बाढीले बगाएपछि उत्तरी क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्र लेलेप,ओलाङचुङगोला,टिपताला र घुन्सा सहितका क्षेत्रमा जाने सवारी आवागमन तापेथोक वारीपारीनै सिमित भएको छ ।

Similar Posts