|

सत्र लाख क्युविक फिट गोलिया निकासी

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ७ । ताप्लेजुङमा एक वर्षको अवधिमा करिव सत्र लाख क्युविक फिट गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात आर्थिक वर्ष २०८१-८२ मा उक्त परिमाणमा गोलिया काठ निकासी भएको छ ।
कटान गर्न प्रतिबन्धित गरिएकाबाहेक निजी वनबाट गोलिया काठ निकासी गर्ने गरिएको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गएको आर्थिक वर्षमा कुल १६ लाख ९७ हजार ८४९.९७ क्युविक फिट काठ निकासी भएको छ । गोलिया काठ अघिल्लो वर्षको तुलनामा गतवर्ष १४ हजार ४८६ क्युविक फिट बढी निकासी भएको छ ।
अघिल्लो आव २०८०-८१ मा १६ लाख ८३ हजार ३६३ क्युविक फिट गोलिया काठ निकासी भएको थियो । जिल्लाका विभिन्न निजी वन क्षेत्रबाट गोलिया काठ निकासी वा स्थानान्तरण गर्ने गरिएको वन अधिकृत यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार उत्तिस, मलातो, चिलाउने, मौवा र खोटे सल्ला जातका काठहरु निकासी गरिएका छन् ।
यता गत आवमा डिभिजन वन कार्यालयले गोलिया काठ निकासी गर्न इजाजत दिएबापत कुल पाँच करोड ८० लाख तीन हजार ४४८ रुपियाँ राजस्व संकलन गरेको छ । संकलित राजस्वमा मूल्य अभिवृद्धि कर चार करोड ८० लाख ५१ हजार ४०३ रुपियाँ र प्रदेश सेवा शुल्कबापत ६७ लाख ५२ हजार ४५ रुपियाँ रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Similar Posts