ताप्लेजुङमा जबरजस्ति करणीका घटनामा बृद्धि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ६ । पछिल्ला तीनबर्षमा ताप्लेजुङमा जबरजस्ति करणी र जबरजस्ति करणी उद्योगका घटना बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पछिल्लो तीन आर्थिक बर्षको तथ्याङ्कका अनुसार जबरजस्ति करणी र जबरजस्ति करणी उद्योगका घटनामा साविक भन्दा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आर्थिक बर्ष २०८१।८२ मा जबरजस्ति करणीका २१ र जबरजस्ति करणी उद्योगका ५ वटा घटना प्रहरीकहाँ दर्ता भए । आव २०८०।८१ मा र २०७९।८० मा जबरजस्ति करणी र जबरजस्ति करणी उद्योगका समान क्रमशः१४ र २ वटा घटना भएका थिए ।
जिल्ला प्रहरी कार्याल ताप्लेजुङले ४५ वटा मुद्दा शीर्षक राखेर घटनाको बार्षिक अभिलेखीकरण गर्दै आएको छ । प्रहरीका अनुसार पछिल्ला तीन आवमा धर्म सम्वन्धी र जातीय भेदभाव तथा छुवाछूत सम्वन्धी र कालो बजारी सम्वन्धी कसुर र नवजात शिशु जन्माई मारेको ज्यान सम्वन्धीका कुनैपनि घटना प्रहरीमा दर्ता भएनन् । पछिल्ला तीन आवमा भएका घटनाको अभिलेखको तुलना गर्दा चोरीका घटना,ज्यान मार्ने उद्योगका घटना,भबितब्य ज्यानका घटना र अभद्र व्यवहारका घटना बृद्धि भएको देखिएको छ । कर्तव्य ज्यान सम्वन्धी घटना साविककै हाराहारी देखिँदा आत्महत्या सम्वन्धी घटनामा केहि न्यूनीकरण भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयले यहाँका बिभिन्न स्थानीय तहसंग मिलेर आत्महत्या न्यूनीकरणका लागि जागरण तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । आव २०८१।८२ मा भबितब्य ज्यानका घटना ४१ वटा घटना भएका छन् ।
आव २०८०।८१ मा ५३ वटा घटना हुँदा आव २०७९।८० मा भने ३८ वटा घटना भएको प्रहरीको बताएको छ । आव २०७९।८० मा ३३ जनाले झुण्डीएर आत्महत्या गरेको प्रहरीको अभिलेखबाट देखिन्छ । आव २०८०।८१ मा ४१ जनाले झुण्डी आत्महत्या गर्दा आव २०८१।८२ मा भने यो संख्या २९ मा झरेको छ । आव २०७९।८० मा भीरबाट हाम्फालेर १ जनाले आत्महत्या गर्दा आव २०८०।८१ र २०८१।८२ मा भीरबाट हाम्फालेर हाम्फालेर कसैले पनि आत्महत्या गरेको अभिलेख प्रहरीमा देखिदैंन । आव २०८१।८२ मा अभद्र व्यवहारका ३२ वटा घटना प्रहरीमा दर्ता भएका छन् । उक्त शीर्षकमा आव २०८०।८१ मा २४ वटा र आव २०७९।८० मा २१ वटा घटना दर्ता भएका थिए । पछिल्ला तीन आर्थिक बर्षका घटनाको अभिलेख हेर्ने हो भने प्रहरीकहाँ दर्ता भएका मुद्दाको संख्या बर्षेनि बढ्दो देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी बस्नेतका अनुसार आव २०८१।८२ मा जिल्ला प्रहरी कार्यालयमा १ सय ९२ वटा घटना दर्ता भए । आव २०८०।८१ मा १ सय ८१ र आव २०७९।८० मा १ सय ६५ वटा घटना प्रहरीमा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता संख्या बृद्धि हुनुमा प्रहरीले गाउँ–गाउँमा पुगेर नागरिक सचेतना अभियान समेत सञ्चालन गर्दै अपराध सम्वन्धी घटनाको हदम्याद र उजुरी दिने प्रकृयाका बारेमा जानकारी गराउने कार्यपनि प्रमुख कारणको रुपमा रहेको औंल्याएको छ ।