ताप्लेजुङमा पूर्वाधार विकास कार्यालय स्थापना

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ५ । ताप्लेजुङमा कोशी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएसँगै ताप्लेजुङमा पनि सोमबारदेखि पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा स्थापना गरिएको कार्यालयको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उद्घाटन गर्नुभएको छ । पूर्वाधार विकास कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री राईले ताप्लेजुङका सेवाग्राहीलाई सहज भएको बताउनुभयो । पूर्वाधार कार्यालयको स्थापनाले स्थानीय सेवाग्रीलाई ठूलो राहत पुग्ने विश्वास पनि मन्त्री राईले लिनुभएको छ ।
ताप्लेजुङमा पूर्वाधार विकास कार्यालयको स्थापना भएसँगै यहाँका सेवाग्राहीले पाँचथरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको पनि मन्त्री राईले बताउनुभयो । सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, सहरी सडक, भवन लगायतका पूर्वाधार निर्माणसम्बन्धी योजना तथा काम पूर्वाधार विकास कार्यालयमार्फत हुने भएकाले ताप्लेजुङमा सञ्चालन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्नमा पनि सहज हुने भएको उहाँको भनाइ छ ।
कार्यालय उद्घाटन कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, प्रदेशसभा सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । पूर्वाधार विकास कार्यालय सदरमुकाम फुङ्लिङस्थित हुलाक लाइनमा स्थापना गरिएको छ ।