अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिद्वारा आन्दोलनको कार्यक्रम घोषणा

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ४ । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक–पटक अनुरोध गरे पनि अटेर गरिएकोभन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाको तर्फबाट गठित अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विभिन्न तीन बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आयोजनाको विरोध कार्यक्रमलाई सशक्त बनाउने संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने रहेको छ । यस्तै एक हप्ता अर्थात साउन ११ गतेपछि फक्ताङ्लुङ क्षेत्रमा कुनैपनि हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन गाडी, मेसिन उपकरणहरु सञ्चालनमा अनिश्चितकालीन रोक लगाउने, घोषित कार्यक्रममाथि बल प्रयोग भएमा चरणबद्ध थप आन्दोलन घोषणा गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै हाइड्रोपावर प्रभावित सबै क्षेत्रमा आन्दोलनको संगठन निर्माण गरी सशक्त बनाउने र अन्य संघ संगठनसँग सहकार्य गरेर अघि बढ्ने रहेको छ । संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलनकै कार्यक्रमअन्तर्गत हाइड्रोपावरविरुद्ध प्रभावित सबै परिवारको हस्ताक्षर संकलन गरेर सम्बन्धित निकायमा बुझाउने रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती जलविधुत निर्माण गर्न लागेकोभन्दै विरोध गर्दै आएका छन् ।
उहीहरुले आदिवासीको सभ्यता र मुन्धुमीस्थलको अस्तित्वमाथि क्षति हुने गरी हाइड्रोपावर निर्माण गर्न लागेकोभन्दै तीनवटै तहको सरकार, आयोजना निर्माण कम्पनी लगायतमा पटक–पटक ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक बीरबल लिङ्खिमले बताउनुभयो । प्रभावित क्षेत्रका बासिन्दाको अनुमतिबिना आयोजनाको काम सुरु गरिएकाले कुनै पनि हालतमा निर्माण गर्न नदिने आफूहरको अडान रहेको संयोजक लिङ्खिमले बताउनुभयो ।
निर्माण पक्षले प्रभावित क्षेत्रका बासिन्दासँगसहमतिका लागि वार्ता र सम्वाद तथा छलफल गर्न चाहेमा आफूहरु तयार रहेको पनि उहाँको भनाइ छ । बल मिच्याइँ ढंगले निर्माणको काम अघि बढाउन चाहेमा भने जस्तोसुकै मूल्य चुकाउनलाई प्रभावित क्षेत्रका बासिन्दा तत्पर रहेको उहाँले बताउनुभयो । संघर्ष समितिले हालसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएको र अब भने स्वरुप परिवर्तन गर्दै कठोर आन्दोलन गर्ने तयारी भइरहेको समितिले चेतावनी दिएको छ ।
आयोजना निर्माणको काम सुरु भएदेखि नै प्रभावित क्षेत्रका बासिन्दाले पटक–पटक निर्माण स्थालमा कालो झण्डा राख्ने, विरोध प्रदर्शन गर्ने लगायतका गतिविधि गर्दै आएको संघर्ष समितिका सल्लाहकार श्री लिङ्खिमले बताउनुभयो । सल्लाहकार लिङ्खिमका अनुसार स्थानीवासीको शान्तिपूर्ण आन्दोलनको बेवास्ता हुँदै आएकाले कठोर आन्दोलनको तयारी भइरहेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी निर्माणको काम सुरु गरेको छ ।