अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो लाग्यो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ४ । ताप्लेजुङको फुङलिङमा साउन २४ गते देखि हुने अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतवार पत्रकार सम्मेलनमार्फत आयोजकको एकसहित प्रतियोगितामा सहभागी हुने ८ टिमको नामावली सार्वजनिक गरेको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार आयोजककोतर्फबाट यसबर्ष सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले प्रतिश्पर्धा गर्ने छ । यस्तै चर्च व्वाइज काठमाडौं,साहारा क्लव पोखरा,रेडस्टार फुटबल क्लव झापा,द योङ ब्रर्दश क्लव इटहरी,सलहेश युवा क्लव सिराहा,फिदिम स्पोर्टिङ क्लव पाँचथर र आमन्त्रित फुटबल टोलीको रुपमा भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार बिधागततर्फ सर्बोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै यस्तै सर्बाधिक गोलकर्ता,उत्कृष्ट फरवार्ड,नव उदयीमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ७ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ७ लाख वा सो भन्दा माथि सहयोग उपलब्ध गराउने कम्पनी वा संघसंस्थालाई टाइटल स्पोन्सरमा राखिने भएको छ । अहिलेसम्म फुङलिङ नगरपालिकाले ७ लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै ३ लाख ५१ हजार देखि ६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग प्रदान गर्नेलाई प्रायोजक,१ लाख देखि ३ लाखसम्म सहयोग गर्नेलाई सहप्रायोजक र ५० हजार देखि माथि ९९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्ने कम्पनी वा संस्थालाई बिशेष सहयोगीको रुपमा लिने आयोजक समितिले निर्णय गरेको छ ।
खेलमा उपस्थित रेफ्री र सहभागी खेलाडीको खेल अवधिभर कुनै दुर्घटना भएमा १ लाख बराबरको बीमा गरिने समेत आयोजक समितिले जनाएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव टीकेन्द्र नेपालीका अनुसार सहभागी टिमले खेल बहिष्कार गरेमा जरीवाना सहित कारवाहीको भागिदार बन्नुपर्ने भएको छ । खेल बहिष्कार गर्ने सहभागी टिमलाई ५० हजार रुपैयाँ जरीवाना गरिने छ भने कारवाहीका लागि जिल्ला फुटबल संघको रोहवरमा अखिल नेपाल फुटबल संघ(एन्फा)मा सिफारिस समेत गरिने भएको छ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा दोस्रो गोल्डकप झैं आयोजक समितिबाट स्वागत मन्तव्य मात्र राखी अथिति वा आयोजक समितिबाट कुनैपनि मन्तव्य नराखी सिधै प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
साउन ३१ गते प्रतियोगिता सम्पन्न हुने छ भने फाइनल खेल भन्दा अघिल्लो दिन साउन ३० गते फुटबल प्रतियोगिताको सञ्चालन नभई एकदिन बिश्राम हुने छ । उक्त दिन साँझ बृहत्त साँस्कृतिक कार्यक्रम राखिएको छ । साँस्कृतिक कार्यक्रमको टिकट दर जनही १ सय रुपैयाँ निर्धारण गरिएको आयोजक समितिले जनाएको छ । गोल्डकपका लागि भने क्वाटर फाइनलको प्रतिदिन जनही १ सय,सेमीफाइनलका प्रत्येक खेलको जनही २ सय र फाइनल खेलको जनही २ सय ५० रुपैयाँ टिकटदर कायम गरिएको छ । नेपाल सरकारले प्रमाणित गरेका बृद्धबृद्धा(जेष्ठ नागरिक),१० बर्ष मुनिका बालबालिका र फरक क्षमता भएका नागरिकलाई उनीहरुलाई प्राप्त प्रमाणपत्रका आधारमा गोल्डकपको अवलोकन सेवा निःशुल्क प्रदान गरिने समेत आयोजक समितिले जनाएको छ ।