साविक भन्दा कम सवारी कारवाहीमा,राजश्व भने बढ्यो

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३ । सवारी कारवाहीमा पर्ने संख्या साविक भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८१।८२ मा पछिल्ला तीन आवमध्ये सबैभन्दा धेरै राजश्व असुली गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)सुमन अधिकारीका अनुसार आव २०८१।८२ मा जम्मा १ हजार ५७ वटा सवारी तथा सवारी चालक ट्राफिक नियम उल्लंघनमा परेका छन् । यसवापत जिल्ला ट्राफिक प्रहरी कार्यालयले ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली गरेको छ । आव २०८०।८१ मा १ हजार ३ सय सवारी कारवाहीमा परेका थिए । उतिबेला ७ लाख ४७ हजार रुपैयाँ राजश्व असुली भएको थियो । आव २०७९।८० मा १ हजार ३ सय १० सवारी कारवाहीमा पर्दा ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो ।

प्रसनी अधिकारीका अनुसार आव २०८१।८२ मा ३० वटा ट्रिपर कारवाहीमा पर्दा १६ हजार ५ सय रुपैयाँ राजश्व असुली भयो । यस्तै २ वटा बस कारवाहीमा पर्दा १ हजार ५ सय रुपैयाँ,३ सय ७५ वटा कार,जीप र भ्यान कारवाहीमा पर्दा २ लाख ४८ हजार,१ सय ७ वटा ट्रयाक्टर कारवाहीमा पर्दा ८३ हजार रुपैयाँ,४ सय ८२ वटा मोटरसाइकल कारवाहीमा पर्दा ४ लाख ३३ हजार रुपैयाँ,५० वटा टेम्पो कारवाहीमा पर्दा ४३ हजार ५ सय रुपैयाँ र अन्य ११ वटा सवारी कारवाहीमा पर्दा ६ हजार रुपैयाँ राजश्व असुली भएको छ ।

Similar Posts