आव २०८१।८२ मा ताप्लेजुङबाट ७ बैबाहिक अंगीकृत नागरिकता जारी,८ जनाले लिए गैर आवासीय नागरिकता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८१।८२ को एक बर्षे अवधिमा ७ थान बैबाहिक अंगीकृत र ८ थान गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार आव २०८१।८२ को पुस,माघ र चैतमा २–२ तथा फागुनमा १ थान बैबाहिक अंगीकृत नागरिकता प्रदान भएको छ । यस्तै साउनमा ३,पुसमा २ तथा माघ,बैशाख र असारमा १–१ थान गरी एक आर्थिक बर्षभरीमा कुल ८ थान गैर आवासीय नेपाली नागरिकता प्रदान भएको खड्काले जानकारी दिनुभयो । प्रशासन कार्यालयले आव २०८१।८२ भरीमा बंशजका आधारमा कुल ३ हजार ४ सय ८९ थान नागरिकता बितरण गरेको जनाएको छ । बंशजका आधारमा नागरिकता लिनेमा पुरुष भन्दा महिला बढी छन् ।
सहायक प्रजिअ खड्काका अनुसार बंशजका आधारमा १ हजार ७ सय ७८ जना महिला र १ हजार ७ सय ११ जना पुरुषले नागरिकता लिएका छन् । आव २०८१।८२ भरीमा कुल ३ हजार ५ सय ४ थान नागरिकता जारी भएको छ । नागरिकताको प्रतिलिपि लिनेमा भने महिला भन्दा पुरुष बढी छन् । सहायक प्रजिअ खड्काका अनुसार कुल २ हजार ६ सय १५ थान नागरिकता प्रतिलिपि जारी भएकोमा १ हजार ५ सय ६६ पुरुष र १ हजार ४९ जना महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् ।