कृषक एम्बुलेन्सको आकर्षणमा ताप्लेजुङका स्थानीय तह,फक्ताङलुङ र पाथीभरा याङवरकले छुट्टयाए बजेट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । ताप्लेजुङका दुई स्थानीय तहले आर्थिक बर्ष २०८२।८३ मा कृषि एम्बुलेन्स खरिद गर्नेगरी बजेट राखेका छन् ।

पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाले शीर्षकनै तोकेर कृषि एम्बुलेन्स खरिद गर्नेगरी बजेट राखेका छन् । कृषि एम्बुलेन्स खरिद अन्तरगत फक्ताङलुङ गाउँपालिकाले २० लाख रुपैयाँ तथा पाथीभरा याङवरक गाउँपालिकाले १२ लाख ५० हजार रुपैयाँ बजेट राखेका छन् । पाथीभरा याङवरक गाउँपालिकाले वडा नं १ नाङखोल्याङसंग साझेदारी गरी कृषि एम्बुलेन्स खरिद गर्नेगरि बजेटको व्यवस्था गरेको जनाएको छ । एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने सेवा दिए जस्तै ‘कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर सङ्कलन गरी बजारसम्म पु¥याउन सहयोग गर्छ । कृषि र पशुजन्य उत्पादन र ती उत्पादनका लागि आवश्यक सामग्री ढुवानी गर्ने साधनलाई कृषि एम्बुलेन्सका रूपमा सञ्चालन गर्न सकिन्छ ।

पूर्वी नेपालमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले कृषि एम्बुलेन्सको प्रयोग गर्दै यसको प्रभावकारिता बृद्धि भएमा थप कृषि एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ । लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे कृषि एम्बुलेन्स कृषकका घरघरमा पुग्ने र उत्पादित सामग्री खरिद गरी बजारसम्म पु¥याउने प्रयोजनमा प्रयोग भइरहेको बताउँनुहुन्छ । यसका लागि लालीगुराँसले मापदण्ड बनाएको छ । जसअनुसार किसानका उत्पादन पूर्ण रुपमा रसायनिक बिषादीरहित(अग्र्यानिक)हुनुपर्ने,प्रत्येक घरधुरीले हप्तामा ५ हजार मूल्य बराबरको तरकारी तथा फलफुलबाली उत्पादन गरेको हुनुपर्ने सहितका मापदण्ड रहेका छन् ।

ताप्लेजुङमा पनि स्थानीय तह कृषि एम्बुलेन्स सञ्चालनको अवधारणा ल्याउँदै एम्बुलेन्स खरिदका लागि बजेटको व्यवस्था गरेका छन् । कृषि एम्बुलेन्सले गाउँमा उद्यमशीलताका लागि सीप सिकाउन माग समेत बढाउने अपेक्षा गरिएको छ । मागबमोजिम तीनै तहका सरकारले उद्यमशीलताका लागि व्यापक रूपमा गहन तालिम सञ्चालन गर्न सक्छन् । कृषि एम्बुलेन्स गाउँमा सञ्चालन हुन थालेपछि सहुलियतपूर्ण ऋण,मल, बिउ र प्राविधिक सेवाको माग बढ्ने अनुमान गरिएको छ ।

Similar Posts