तेस्रो ताप्लेजुङ गोल्डकप: पुरस्कार राशीमा बृद्धि गरिने,६४ लाख आयव्ययको अनुमान

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३२ । साउन २४ गते देखि ताप्लेजुङमा सञ्चालन हुने तेस्रो ताप्लेजुङ गोल्डकपका बिजेता र उपबिजेताले पाउने पुरस्कार राशीमा बृद्धि गरिने भएको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले यसबर्षको गोल्डकपको पुरस्कार राशीमा बृद्धि गर्ने निर्णय गरेको हो । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार बिजेतालाई ७ लाख र उपबिजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रबकम दिनेगरी आयोजक समितिले निर्णय गरेको छ ।
दोस्रो ताप्लेजुङ गोल्डकपका बिजेताले ५ लाख तथा उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका थिए । साउन २४ देखि ३१ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेलमैदानमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपका बिधागत पुरस्कार समेत राखिने छ । आयोजक समितिले करिव ६४ लाख रुपैयाँ बराबरको आयव्यय बिवरणको अनुमान लगाएको छ ।