तेस्रो ताप्लेजुङ गोल्डकप:न्यूनतम् २० लाख रुपैयाँलाई आधार मानेर बढाबढमा बोलपत्रमार्फत टिकट बिक्री गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३१ । साउन २४ गते देखि ३१ गतेसम्म हुने तेस्रो ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीको जिम्मेवारी स्थानीय कम्पनी,समूह र संस्थालाई बढाबढमा बोलपत्रमार्फत दिइने भएको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले सूचना जारी गर्दै यसपटक कम्तिमा २० लाख रुपैयाँ लाखेजात्रा सञ्चालन समितिलाई बुझाउनुपर्नेगरी बढाबढमा बोलपत्र आवह्वान गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र सचिव टीकेन्द्र नेपालीले हस्ताक्षर गरी बोलपत्र आवह्वान गर्दै सर्तनामा अनुसार काम गर्न इच्छुक कम्पनी,समूह र संस्थालाई बोलपत्रमा सहभागी हुन आग्रह गर्नु भएको छ । न्यूनतम् २० लाख रुपैयाँलाई आधार मानी सबैभन्दा बढी रकम कबोल्ने कम्पनी,समूह र संस्थालाई टिकट बिक्रीको जिम्मेवारी लिने आयोजक संस्थाको तयारी छ । सर्त अनुसार प्रतियोगिताको पहिलो चार चरणका खेलको टिकटदर जनही १ सय रुपैयाँ कायम गरिएको छ ।
सेमीफाईनलका दुई खेलको टिकट दर २ सय र फाइनल दिनको खेलको टिकटदर जनही २ सय ५० रुपैयाँ कायम गरी बोलपत्र पार्ने स्थानीय कम्पनी,समूह र संस्थाले सोहि अनुसार संकलन गर्न पाइने सर्त रहेको छ । सर्त अनुसार बोलपत्र पार्ने स्थानीय कम्पनी,समूह र संस्थाले बोलपत्र सकारेको रकमको ७५ प्रतिशत आयोजक संस्थालाई अग्रिम भुक्तानी गर्नुपर्ने छ भने बाँकी २५ प्रतिशत रकम सेमीफाइनल खेल समाप्त भएपछि बुझाउनु पर्ने हुन्छ । यदि बाँकी रकम नबुझाए फाइनल खेलको टिकट बिक्री आयोजक कमिटीले नै गर्ने सर्त समेत राखिएको छ ।