‘आन्छन’ साहित्यिक पुरस्कार याक्सोलाई प्रदान

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २९ । ताप्लेजुङस्थित कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार साहित्यकार हर्क याक्सो लिम्बूलाई प्रदान गरेको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ निवासी याक्सोलाई २० हजार रुपियाँ राशिको आन्छन साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानले २१२ औं भानुभक्त जन्मजयन्तीको अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा कार्यक्रम आयोजना गर्दै अग्रज साहित्यकार याक्सोलाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरोज मादेनले याक्सोलाई कदरपत्रसहित पुरस्कार रकम वितरण गर्नुभयो ।
साहित्य क्षेत्रमा याक्सोले पु¥याउनुभएको योगदानको मूल्यांकन गरी यसवर्षको चन्द्र मादेन आन्छन साहित्यिक पुरस्कार उहाँलाई प्रदान गरिएको हो । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार विभिन्न स्रष्टा तथा सर्जकबाट प्राप्त भएको प्रकाशित कृति (पुस्तक) लाई मूल्यांकन गरी सर्वोत्कृष्टका आधारमा याक्सोलाई पुरस्कार प्रदान गरिएको छ ।
आन्छन पुरस्कार वितरणका लागि पुरस्कृत हुने स्रष्टा छनोटका लागि अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको एक छनोट तथा मूल्यांकन समिति निर्माण गरिएको थियो । छनोट तथा मूल्यांकन समितिको समीक्षासहित नाम सिफारिस गरेअनुसार याक्सोलाई पुरस्कार प्रदान गरिएको भट्टराईले बताउनुभयो । साहित्यकार यक्सोले पैतालाका डोबहरुलगायत आफ्ना तीनवटा प्रकाशित साहित्यिक कृति पुरस्कारका लागि मूल्यांकन गराउन प्रतिष्ठानलाई उपलब्ध गराउनुभएको थियो ।
यता पुरस्कार वितरण कार्यक्रमसँगै जिल्लाका साहित्यकारहरुले रचना वाचन गर्नुभएको छ । करिव दुई दर्जनको सङ्ख्यामा सहभागी साहित्यिक स्रष्टा तथा कविहरुले विभिन्न विधाका रचना वाचन गर्नुभएको थियो । आदिकवि भान जयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सचिव शान्तिराम नेपालले जानकारी दिनुभयो ।