कञ्चनजंघा हीरक महोत्सवमा ३१ लाख घाटा

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २८ । ताप्लेजुङमा गत बैशाख पहिलो साता आयोजना गरिएको कञ्चनजंघा हीरक महोत्सवमा आयोजकले घाटा बेहोर्नु परेको छ । महोत्सव आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले करिव ३१ लाख रुपियाँ घाटा बेहोर्नुपरेको हो ।
सदरमुकाम फुङ्लिङमा परिषदले शनिबार पत्रकार सम्मेलन गरी हीरक महोत्सवमा भएको आयव्यय सार्वजनिक गरेको हो । गत बैशाख ५ देखि ७ गतेसम्म आयोजित तीन दिने हीरक महोत्सवमा कुल ३० लाख ९४ हजार ३३६ रुपियाँ आयोजकले घाटा बेहोर्नुपरेको परिषदले जनाएको छ । परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार महोत्सव सञ्चालनका लागि आम्दानी भन्दा खर्च बढी भएकाले घाटा भएको हो ।
महोत्सव सञ्चालनका लागि सहयोग संकलन भएको अर्थात आम्दानीतर्फ ७७ लाख ५० हजार रुपियाँ रहेको परिषद अध्यक्ष फेम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव सम्पन्न गर्न व्यय अर्थात खर्च भने एक करोड आठ लाख ४४ हजार ३३६ रुपियाँ भएको छ । आर्थिक सहयोगका लागि निश्चित भएको स्रोतका आधारमा खर्चको योजना बनाएर महोत्सवमा खर्च गरिएको, तर अन्तिममा सहयोग रकम प्राप्त नभएपछि घाटा भएको अध्यक्ष फेम्बुले बताउनुभयो ।
परिषदका अनुसार कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्ने भनेको ३० लाख रुपियाँ सहयोग रकम प्राप्त नभएपछि आयोजकले घाटा बेहोर्नुपरेको हो । आयोजकलाई घाटा भएको रकम परिपूर्ति गर्नका लागि विभिन्न संघ संस्थासहित निकायसमक्ष परिषद्ले अपिलसमेत गरेको छ । यता हीरक महोत्सवका लागि सबैभन्दा बढी समृद्ध पहाड नेपाल नामक संस्थाले २० लाख रुपियाँ सहयोग गरेको छ ।
यस्तै क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले १० लाख, तमोर इनर्जी प्रालिले सात लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । अन्य विभिन्न दाता तथा निकायबाट ५० हजारदेखि पाँच लाख रुपियाँसम्म आर्थिक सहयोग जुटेको परिषदका सदस्यसचिव मनकुमार राईले जानकारी दिनुभयो । व्ययतर्फ सबैभन्दा बढी साँस्कृतिक कार्यक्रम तथा प्रदर्शनी शीर्षकमा १६ लाख ४१ हजार १७७ रुपियाँ खर्च भएको छ ।
अतिथि स्वागत सत्कारमा १३ लाख दुई हजार ४९९ रुपियाँ, खेदकुद गतिविधि भलिबल प्रतियोगितामा १३ लाख १५ हजार ५२४ रुपियाँ, महोत्सव कार्यक्रम यातायत व्यवस्थापनमा १२ लाख ५० हजार १०१ रुपियाँ खर्च भएको छ । बाँकी अन्य विभिन्न शीर्षकमा खर्च भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघामा मानव पाइला पुगेको अर्थात आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो । आजभन्दा ७० वर्ष पहिले सन् १९५५ मे २५ मा बेलायतका आरोही जो ब्राउन र जर्ज ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल आरोहण गर्नुभएको थियो । हीरक महोत्सव कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादव, समृद्ध पहाड नेपालकी कार्यक्रम संयोजक चित्राकुमारी चङ्सु लगायतको उपस्थिति रहेको थियो ।