युट्युव र सामाजिक सञ्जाल भित्रपनि ‘सन्तुलन’को पर्याप्त आधार खोज्दै ‘खोज समाचार’

खगेन्द्र अधिकारी
उज्यालो पोष्ट
ताप्लेजुङ,असार २३ । पत्रकारिताको परम्परागत शैलीलाई आधुनिक रुपमा परिवर्तन गर्न सुरु भएको ‘खोज समाचार डटकम’ले यतिबेला दर्शक तथा स्रोताको मनलाई टपक्कै टिपेको छ ।
स्थापनाको छोटो अवधिमै खोज समाचारले साढे ८ लाखभन्दा बढी फेसबुक फलोअर्स र ५० हजारभन्दा बढी युट्युब सदस्यता संख्यासहित डिजिटल माध्यममा आफ्नो बलियो प्रभाव छाड्न थालेको छ । खोज समाचार तीन वर्षअघि सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भई सञ्चालनमा छ । खोजमूलक र जनमुखी सामग्रीलाई प्राथमिकतामा राख्ने बेथेल मिडिया हाउस प्रालिद्धारा सञ्चालित खोज समाचार डटकमले कतिपय युट्युव च्यानलको सन्तुलन गुमाउने परिस्थतिलाई चुनौति दिदैं युट्युवसहितका सामाजिक सञ्जाल भित्रपनि आफुले पस्कने समाचार तथा सन्देशमा पत्रकारितामा प्रयोग हुने ‘एबिसी’सिद्धान्त लागु गर्न सकिन्छ भन्ने प्रमाणित गर्न थालेको छ ।
पत्रकारितामा ‘एबिसी’भन्नाले सत्यतथ्य(एक्युरिसी),सन्तुलन(ब्यालेन्स) र उत्तरदायीपूर्ण(क्रिडिबिलिटी)को सिद्धान्तलाई मुख्य बिशेषताको रुपमा लिने गरिन्छ ।‘हामीले डिजिटल पत्रकारिताभित्र पनि पत्रकारिताको आर्दश मान्यतालाई केन्द्रीय बिशेषताको रुपमा लिएर अघि बढ्ने निश्कर्षका साथ आफ्नो अभियानलाई अघि बढाएका हौं’ बेथेल मिडिया हाउस प्रालिका संस्थापक रोशन श्रेष्ठले भन्नुभयो । उहाँले डिजिटल युगको तीव्र विकासंगै खोज समाचार डटकमले परम्परागत पत्रकारितालाई नयाँ अध्यायबाट अघि बढाउन सोचका साथ सञ्चार गृहलाई सोहि अनुरुपको बनाउने प्रयास जारी राखिएको बताउनुभयो ।
उसोत,सुरुका केहि समय खोज समाचार डटकम एक पक्षीय बनेको अभियोगबाट अछूतो रहेन । काठमाडौंका मेयर बालेन शाह,धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपाल हमाल जस्ता स्वतन्त्र रुपमा निर्वाचन जितेर चर्चामा आएका व्यत्तित्वहरुलाई बढी पक्षपोषण गरेको आरोपबाट सुरुका दिनमा खोज समाचार डटकम पनि प्रभावित भयो । संस्थापक श्रेष्ठ आफैंले सन्दर्भ सामग्रीलाई परिस्कृत र व्यवस्थित गर्न थालेपछि खोज समाचारप्रति विश्वसनीयतामा बृद्धि मात्र भएन,सञ्चार संस्थामाथिको लोकप्रियतामा समेत बृद्धि हुँदै गएको देखिएको छ ।
पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष तथा राससकर्मी सन्तोष पुर्कुटी पत्रकारितालाई निश्पक्षता मापन गर्ने आधारको रुपमा समाजले चिन्ने गरेकोले पत्रकारिताका मुख्य सिद्धान्त आत्मसाथ गर्ने हो भने पत्रकारिता पेशा स्थापित र व्यवसायिक बन्ने बताउनुहुन्छ । ‘ म आफु पनि नियमित रुपमा खोज समाचार डटकम पढ्ने,हेर्ने गर्छु’पुर्कुटीले भन्नुभयो‘निश्चय पनि नयाँपन छ र पत्रकारितालाई नयाँ अध्यायको रुपमा विकास गर्न खोजिएको छ’ । यस डिजिटल मिडियाले लेख,भिडियो रिपोर्ट तथा विशेष अनुसन्धानात्मक सामग्री उत्पादन तथा प्रकाशन गर्दै आइरहेको छ । खोज समाचारले समाजमा व्याप्त भ्रष्टाचार,सामाजिक विकृति र विसङ्गति प्रति खबरदारीको काम गर्ने आफ्नो केन्द्रीय लक्ष्य बनाएको छ ।
खोज समाचार अनलाइन पाँच सदस्यीय स्थायी टिमद्वारा सञ्चालित छ । सम्पादकीय नेतृत्व पुष्पा तामाङले सम्हालिरहनु भएको छ । सामग्रीको वितरणमा सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाईएको छ ।‘पत्रकारिताभित्र अबको भबिष्य बिद्युतीय माध्यम केन्द्रित तर विगतको परम्परागत पत्रकारिता भन्दा बेगल प्रकृतिको हुनुपर्ने निश्कर्षका हामीले बालबालिका,किशोर,युवा,बयस्क र बृद्धबृद्धा लक्षित सन्दर्भ सामग्री तयार पारिरहेका छौं’खोज समाचार डकटमका मुख्य सञ्चालक श्रेष्ठले भन्नुभयो । उहाँले आफुले सुरु गरेको अभियानले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिताको बलियो जग स्थापित हुने विश्वास समेत राख्नुभयो ।