फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाई तालिम सम्पन्न

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १८ । ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकाय सहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ताप्लेजुङले तालिम प्रदान गरेको हो ।
स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा पु¥याउने उद्देश्यसहित महासंघले सरोकारलालाई तीन दिने तालिम प्रदान गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा सुरक्षाकर्मी सहितलाई ठोस फोहोर व्यवस्थापन तथा वातावरण सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।
अध्यक्ष ओझाका अनुसार सुरक्षा निकायतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी, फुङ्लिङ नगरपालिकाका नगर प्रहरीलाई तालिम प्रदान गरिएको हो । तालिममा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, दलित सञ्जाललगायत सरोकारवाला निकायका प्रतिनिधिलाई सहभागी गराई फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ ।
सदरमुकाम फुङ्लिङमा सञ्चालित तीन दिने तालिम सोमबार सुरु भई बुधबार सम्पन्न भएको थियो । आयोजक फेकोफन जिल्ला महासंघका अनुसार तालिममा ५० जना प्रशिक्षार्थी सहभागी भएका भएका थिए । तालिममा वन विषयका विज्ञ तथा प्राध्यापक गुलावकुमार चौधरी र वन अधिकृत शिशुराज झाले सहजीकरण गर्नुभएको थियो ।
यता तालिम सम्पन्न भएपछि आयोजित समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, डिभिजनल वन अधिकृत नथुनी गोहिबार यादव, प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन लगायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको छ । डिभिजन वन कार्यालयकै सहयोगमा महासंघले वन प्रवर्द्धन तथा ज्ञान प्रवर्द्धनसम्बन्धी सूचना प्रणाली तालिमसमेत सञ्चालन गरेको थियो ।