| |

ताप्लेजुङमा एसइईमा आधाभन्दा कम मात्र विद्यार्थी उत्तीर्ण

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङबाट सामेल भएका आधाभन्दा न्युन परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार एसइईमा सामेल (सहभागी) भएका आधाभन्दा न्युन उत्तीर्ण भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले २०८१ को एसइईमा सहभागी भएकामध्ये आधाभन्दा कम अर्थात ४५.९३ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका जनाएको छ । इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार साधारण र प्राविधिकधार दुवै गरी ७४१ जना मात्र विद्यार्थी एसइईमा उत्तीर्ण भएका छन् । साधारणतर्फ एसइईमा एक हजार ४१५ जना सहभागी भएकामा ६५० जना मात्र उत्तीर्ण भएका इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राविधिक धारतर्फ परीक्षामा सहभागी १२२ मध्ये ९१ जना उत्तीर्ण भएका छन् । साधारणतर्फ ७६५ जना र प्राविधिकधारका ३१ जना असफल अर्थात अनुत्तीर्ण भएएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । त्यस्तै ताप्लेजुङबाट ग्रेडवृद्धितर्फ साधारण र प्राविधिकधार गरी ७३५ जना परीक्षामा सहभागी भएका, तर उनीहरुको नतिजाबारे भने समन्वय इकाइलाई जानकारी नहुने इकाइ प्रमुख भट्टराईले बताउनुभयो ।
यता यसवर्षको एसइईमा जिल्लाबाट सबोत्कृष्ट नतिजा ल्याउनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङस्थित साङक देछ्योलिङ गोन्पा विद्यालयका लाके शेर्पा (३.९१ जिपिए) हुनसक्ने इकाइ प्रमुख भट्टराईको भनाइ छ । यद्यपि, एसइई नतिजाको जिपिए अवस्थासहितको नतिजा विवरणबारे आइतबार सम्ममा मात्र यकिन हुने उहाँले बताउनुभयो ।
गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले भने एसइई नजितामा ३.९१ जिपिए प्राप्त गर्ने शेर्पा र सोही विद्यालयका ३.८६ जिपिए प्राप्त गर्ने प्रितम गुरुङ जिल्लाकै सबोत्कृष्ट प्रथम र दोस्रो भएको दावी गर्नुभएको छ । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भएका ११ जना विद्यार्थीमध्ये सात जना ‘ए प्लस’, तीन जना ‘ए’ र एकजना ‘बि प्लस’ जिपिए ल्याउँदै शतप्रतिशत उत्तीर्ण भएका छन् । जिल्लामा रहेको सामुदायिक ६४ र संस्थागत छ गरी ७० वटा माध्यमिक तहका विद्यालयबाट परीक्षार्थीले एसइई दिएका थिए ।

Similar Posts