वन प्रवर्द्धन सूचना प्रणाली तालिम सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १३ । ताप्लेजुङमा वन प्रवर्द्धन तथा ज्ञान प्रवर्द्धन सूचना प्रणाली तालिम सुरु गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघको आयोजनामा सदरमुकाम फुङ्लिङमा तीन दिने सूचना प्रणाली तालिम सुरु भएको हो ।
सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध पदाधिकारी तथा सदस्य, वन संरक्षण निकायका कर्मचारीलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा आयोजना गरिएको तालिममा लक्षित पक्षका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
वन प्रवर्द्धन सूचना प्रणाली र ज्ञान प्रवर्द्धन सूचना प्रणालीसम्बन्धी शिक्षा तथा प्रशिक्षण प्रदान गर्नेगरी तालिम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । अध्यक्ष ओझाका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन संरक्षण निकायतर्फ डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि तालिममा सहभागी हुनुभएको छ ।
तालिममा वन प्रवर्द्धन तथा ज्ञान प्रवर्द्धन सूचना प्रणालीअन्तर्गत जिपिएस इसेन्सियल, ल्याण्ड क्याल्कुलेटर एप्सबारे जानकारी दिने, उक्त एप्समार्फत लोकेसन (स्थान) पत्ता लगाउने, जग्गाको सीमांकन र क्षेत्रफल पत्ता लगाउनेजस्ता विषय सिकाइने छ । लक्षित पक्षका करिव ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिमको सहजीकरण वन विषयका विज्ञ शिशु झा र गुलावकुमार चौधरीले गरी रहनुभएको छ । तालिम आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।