चालु आवको असार पहिलोसातासम्ममा पाथीभरामा आए ३२ सय बिदेशी पर्यटक,२ करोड ८८ लाख भेटि संकलन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । चालु आर्थिक बर्षको गत साउन देखि असार दोस्रोसाता सम्ममा झण्डै ३ हजार २ सय बिदेशी पर्यटकले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन देखि असार १० गते सम्ममा ३ हजार १ सय ९१ जना बिदेशी नागरिकले मन्दिरको दर्शन गरेका हुन् । बिदेशी पर्यटकको ठूलो हिस्सा भने भारतीय नागरिक रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार ३ हजार १ सय ३१ जना भारतीय नागरिकले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । भारतीय बाहेक अन्य ८ देशका नागरिकले समेत पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
क्षेत्र विकास समितिका अनुसार नेदरल्याण्डका १५ जना,अमेरिकाका १४ जना,चीनका १२ जना,अष्ट्रेलियाका ७ जना,फ्रान्सका ३ जना,स्वीजरल्याण्ड र जर्मनीका ४–४ जना र सिँहापुरका ३ जना नागरिकले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । पाथीभरा मन्दिरमा २०८१ सालको साउन देखि २०८२ सालको जेठ महिना सम्ममा भने कुल २ लाख १३ हजार १ सय २५ जना दर्शनार्थी दर्शनका लागि पुगेको क्षेत्र विकास समितिले जनाएको छ । जेठ महिनामा १६ हजार २ सय १० जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चालु आवको गत साउन महिनामा सबैभन्दा कम १ हजार ९ सय ५५ जना तथा सबैभन्दा बढी कात्तिक महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अनुसार भदौ महिनामा ९ हजार ९ सय ३९ जना,असोज महिनामा ५ हजार ९ सय ४९ जना,मंसिर महिनामा २१ हजार १ सय ८० जना,पुस महिनामा ६ हजार ४ सय २७ जना,माघ महिनामा ४ हजार २ सय ४९ जना,फागुन महिनामा ७ हजार ४ सय २८ जना,चैत महिनामा ४० हजार ४ सय ३५ जना र बैशाख महिनामा ३८ हजार १ सय ७० जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चालु आवको जेठ महिनासम्ममा पाथीभरा मन्दिरबाट संकलन भएकोमध्ये कुल २ करोड ८८ लाख ५४ हजार ५ सय ७१ रुपैयाँ गणना भई समितिको खातामा आम्दानी बाँधिएको क्षेत्र विकास समितिले जनाएको छ ।