बजेटको पूर्व तयारीसम्बन्धी फक्ताङ्लुङद्वारा बैठक आयोजना

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बजेट प्रस्तुत गर्ने पूर्वसन्ध्यामा कार्यपालिका बैठक आयोजना गरेको छ । बजेट प्रस्तुति तथा सार्वजनिक गर्नेसम्बन्धी आवश्यक तयारीको विषयमा छलफल गर्न गाउँपालिकाले सोमबार गाउँ कार्यपालिकाको बैठक आयोजना गरेको हो ।
मंगलबार सार्वजनिक गर्न लागिएको आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमसम्बन्धी आवश्यक छलफल साथै निर्णय गर्न कार्यपालिकाको बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमार्फत आवश्यक निर्णयसहित मंगलबार प्रस्तुत हुने बजेटको तयारी पूरा भएको अध्यक्ष लिम्बूले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको आवश्यकता र समृद्धि साथै विकास लक्षित बजेट तथा नीति कार्यक्रमको तयारी गरिएको छ । गाउँपालिकाले तयार गरेको बजेट तथा योजना र नीति कार्यक्रमले पालिकाको विकाससँगै समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका नौमध्ये सोमबार सम्ममा पाँचवटा स्थानीय तहले आगामी आवका लागि बजेट तथा नीति कार्यक्रम ल्याइसकेका छन् । हालसम्म बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका, सिरिजंघा गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिका रहेका छन् । बाँकी फक्ताङ्लुङ गाउँपालिकासहित फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले मङ्गलबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।