भारतको रुद्रपुर घटना:सोमको मृत्युपछि प्राप्त विवरणका आधारमा प्रहरीको एक्सन,३५ नेपाली युवाको उद्धार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । मानव तस्करीको झल्को दिनेगरी प्रलोभनमा पारेर भारतको उत्तराखण्ड पुगेका ३५ जना नेपाली युवाहरुको उद्धार गरिएको छ ।

फेसबुकमार्फत राम्रो जागिर लगाइदिने भनी विभिन्न सोरुमहरूका फोटो पठाउने,बिल काट्ने काम लगाउने लगायतका प्रलोभनमा पारेर आधार कार्ड र पेनकार्ड बनाउनुपर्छ भनी ३० हजार भारतीय रुपैयाँसम्म माग गर्ने र अन्तिममा अलपत्र पार्ने गरी नेपालका विभिन्न जिल्लाहरूबाट त्यहाँ पुगेका ३५ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी) बेदप्रसाद गौतमले आइतवार साँझसम्ममा उक्त प्रलोभनमा परी त्यहाँ पुगेका ३५ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो । उक्त घटनामा संलग्न दुईजनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान सुरु गरेको समेत प्रहरीले जानकारी दिएको छ । थप उद्धार र अनुसन्धानको कार्य जारी रहेकोले प्रहरीले उक्त घटनामा संलग्न अभियुक्तहरुको विवरण गोप्य राखेको छ ।

उत्तराखण्डको उद्यमशील नगरस्थित काशीपुर जिल्लाबाट उत्तराखण्ड प्रहरीको सहयोगमा ३५ जना नेपाली युवाहरूलाई उद्धार गरिएको समेत जिल्ला प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो । यो उद्धार कार्यमा प्रहरीको अभियानमा साथ दिएर ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० घर भएका महेन्द्र भट्टराईसमेत उत्तराखण्ड पुगेर उद्धारमा सक्रिय रहनु भएको छ । भट्टराईको साहसिक कदमको जिल्ला प्रहरी कार्यालयले उच्च प्रशंसा गरेको छ । उक्त घटनामा जोडिएका ताप्लेजुङको फुङलिङ वडा नं ६ बाँझोगराका सोम लिम्बूको मृत्यु पछि उहाँको शव ल्याउन समेत भट्टराईको महत्वपूर्ण सहयोग रहेको प्रहरीले बताएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सोमको मृत्युपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धान प्रकृया सुरु भएको र उद्धार कार्य सफलताउन्मुख रहेको बताउनुभयो । उक्त निबेदनका आधारमा गृहमन्त्रालय,महिला तथा बालबालिका मन्त्रालय,प्रहरी प्रधान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्युरो हुँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावास र त्यसपश्चात किन इन्डियासंगको बिभिन्न चरणको छलफलपछि मिसन चेन ब्रेक बनाएर काम गरेको प्रहरीले बताएको छ ।
के हो घटना ?
गत जेठ ७ बुधबार बिहान दुई युवा (मृतकका सोमका भाइ विजय लिम्बू र फुङलिङ हाङदेवाका भाग्य लिम्बू) दाजु सोमको मृत्युको लिखित जानकारीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुग्नुभयो । उहाँहरूले प्रहरीलाई दिएको जानकारी अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम भारतको उत्तराखण्डस्थित रुद्रपुर पुग्नु भएको थियो । भाग्य आफ्ना अर्का साथीमार्फत त्यहाँ पुग्नु भएको थियो । मासिक ६० हजार भारतीय रुपैयाँ कमाइ हुने, बिल काट्ने, कपडा प्याकिङ र कम्प्युटरमा काम गर्ने प्रलोभनमा उहाँहरू त्यहाँ पुग्नु भएको थियो ।। भाग्य चैत २१ गते बुटबलबाट सीमा पार गरेर रामपुर हुँदै रुद्रपुर पुग्नु भएको थियो । विजय वैशाख ४ गते र सोम वैशाख ७ गते त्यहाँ पुग्नु भएको थियो । आकर्षक कमाइको प्रलोभनमा परेका युवाहरूले कुटपिट, दुव्र्यवहार र यातना सहनुपरेको बयान प्रहरीलाई दिनु भएको थियो । विजय र भाग्यका अनुसार रुद्रपुरमा ‘ग्याल्बे कम्पनी’ भनिने स्थानमा कोठा भाडामा लिएर राखिन्थ्यो । त्यहाँ पुग्ने बित्तिकै आधार कार्ड र रासन कार्ड बनाउन भन्दै प्रतिव्यक्ति ५०–६० हजार रुपैयाँ लिइन्थ्यो ।

कम्पनीले प्रत्येक व्यक्तिलाई ५–७ जनाको समूह ल्याउन दबाब दिन्थ्यो । म्यासेन्जरमा कुरा गरेर साथी बोलाएपछि थप सम्पर्क गर्न दिइँदैन थियो । कम्पनीले भने अनुसारको रकम पाउन प्रलोभनमा परेर विजयले दाजु सोमलाई भारत बोलाउनुभयो । विजयलाई पैसा जम्मा गर्न भनियो । उहाँले पैसा दिनसक्ने अवस्था नभएपछि बुबा बिरामी भएको भन्दै नेपालमा रहनु भएकी दिदीसंग भिडियो पठाउन लगाएर र अस्पतालको कार्ड देखाएर उहाँ त्यहाँबाट उम्कन सफल हुनुभयो । त्यहाँबाट उहाँलाई कुटपिट गरेर कोठाबाट निकालेपछि उहाँ भाग्न सफल हुनुभयो र जसोतसो नेपाल फर्किनुभयो । दाजु सोमलाई त्यही छाडेर आउनु भएका विजयले केही समयपछि दाजुको मृत्युको खबर पाउनुभयो ।

मृत्यु घटना तथा मृतकका भाई बिजय र उहाँका साथी भाग्यको बयानमा आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेत घटनाको गहिराईसम्मको अध्ययन अनुसन्धानका कारण तथा घटनामा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन सकिएको बताउनुहुन्छ।

 

Similar Posts