|

ताप्लेजुङ गोल्डकपको तयारी तीव्रःखेल मैदानमा दुबो रोप्न करिव पन्ध्रसय स्वयंसेवीको सहयोग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । दुबोले भरिएको मैदानमा यसबर्षको ताप्लेजुङ गोल्डकप सञ्चालन गर्ने प्रयास जारी राखेको लाखेजात्रा सञ्चालन समिति खेलमैदानमा सप्रिएको दुबो देखेर हौसिएको छ ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले गोल्डकप सञ्चालनस्थल भानुजन माविको खेल मैदानमा रोपण गरेको दुबो सप्रिएर सुन्दर बनेकोमा दुबो रोपण कार्यमा श्रमदान गर्ने सबै स्वयंसेवीलाई धन्यवाद दिनु भएको छ । रोपिएको दुबो आसा गरेभन्दा राम्ररी सप्रिएको भन्दै शेर्पाले यसले खेल सञ्चालनमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले रोपण भएको दुबो सप्रिएर खुसीको सम्पूर्ण श्रेय दुबो रोपणमा संलग्न स्वयंसेवी व्यक्तित्वलाई दिनु भएको छ । दुबो सप्रन थालेपछि भानुजन माविको खेल मैदान हरियो बनेको छ । मादेनले भानुजन माविको खेल मैदानमा दुबोको हरियोपन बढेकोप्रति देश परदेशसम्म पुगेका ताप्लेजुङ जिल्लाबासीहरुले खुसी प्रकट गर्दै सन्देशहरु प्रवाह गर्न थालेको जानकारी दिनुभयो ।‘हाम्रो योजना र स्वयंसेवी व्यक्तित्वहरुको अथक सहयोगका कारण भानुजन माविको खेलमैदानस्थल दुबोको हरियालीले सजिन पाएको छ’मादेनले भन्नुभयो ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष शेर्पाका अनुसार सञ्चालन समितिका पदाधिकारी,सदस्य र सल्लाहकार बाहेक यहाँका २८ वटा संघसंस्थाका करिव १ हजार ४ सय ६५ जनाले दुबो रोपण र संरक्षण कार्यमा सहयोग गर्नु भएको छ ।‘यो अमूल्य सहयोगकै कारण अहिले भानुजन माविको खेल मैदानमा दुबोको हरियालीले सजिन पाएको छ’शेर्पाले भन्नुभयो । उहाँले अहिले पनि कतिपय स्वयंसेवीहरुले मैदानमा दुबो रोपण तथा संरक्षणका लागि आफुहरु अग्रसर हुने बताइरहेको जानकारी दिनुभयो ।

दुबो रोपण,संरक्षण र व्यवस्थापनका लागि बिभिन्न व्यत्तित्वहरुले उपकरण सहितको कार्यमा समेत सहयोग गर्नु भएको छ । हरेक बर्ष लाखेजात्राको अवसरमा भानुजन माविको खेल मैदानमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । २०२९ साल देखि बिभिन्न नाम दिएर खेलाईदै आएको फुटबल पछिल्लो समय भने ताप्लेजुङ गोल्डकपका नामबाट सञ्चालन हुँदै आएको छ । यसबर्षको ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण हो ।

पहिलो र दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको नेतृत्व गर्नु भएका पत्रकार देवराज गुरुङ लाखेजात्राको अवसरमा हरेक बर्ष सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता ताप्लेजुङको मात्रै नभएर पूर्वी नेपालकै पहिचानको रुपमा रहँदै आएको बताउँनुहुन्छ । लाखेजात्राको अवसरमा हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लाहरुमा आयोजना हुने फुटबल प्रतियोगितामा सबैभन्दा बढी दर्शकले अवलोकन गर्ने प्रतियोगिताको रुपमा समेत परिचित छ ।

यसबर्षको प्रतियोगिताको आधिकारिक मिति तय भई नसकेपनि आउँदो साउन २४ बाट सुरु गर्ने आन्तरिक तयारी भइरहेको छ । चाँडै प्रतियोगिताको मिति तय गरी गोल्डकपको तयारीलाई तीव्र बनाईने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेन बताउँनुहुन्छ । स्थायी बाहेक अस्थायी प्याराफिट समेत निर्माण गरेर दर्शकलाई फुटबलको अवलोकनको मज्जा दिलाउने योजना बनाइरहेको लाखेजात्रा सञ्चालन समितिले बताएको छ ।

Similar Posts