| |

किसान सहिद दिवसमा श्रमदानमार्फत अलैँची रोपियो

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ६ । ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ । किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो ।
किसान महासंघ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान गरिएको हो । फुङ्लिङ नगरपालिका निवासी किसान महासंघ जिल्ला समितिकी उपाध्यक्ष फूलमाया गुरुङको करिव पाँच रोपनी जग्गामा अलैँची रोपिएको फुङ्लिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले जानकारी दिनुभयो ।
योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) का प्रदेश कमिटी सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार एक हजार अलैँचीको बिरुवा रोपिएको हो । अलैँची रोप्न श्रमदान गर्नेमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग), जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ, सचिव सागरमणि गौतम लगायतका नेता, कार्यकर्ता सहभागी हुनुभएको थियो ।
यस्तै किसान महासंघ जिल्ला समितिका पदाधिकारी, सदस्य र स्थानीय समर्थक तथा शुभेच्छुकले अलैँची रोप्न श्रमदान गर्नुभएको छ । अलैँची ताप्लेजुङको प्रमुख नगदेबाली हो भने जिल्लाका अधिकांस किसान अलैँची खेतीमा आवद्धमा रहेका छन् ।

Similar Posts