|

सडक र सवारी दुर्घटना बिरुद्ध जनचेतना जगाउन ट्राफिक सप्ताह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ६ । ट्राफिक सप्ताहको अवसर पारेर शुक्रवार ताप्लेजुङको फुङलिङमा प्रभातफेरि तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

तोक्मेडाँडाबाट सुरु भएको प्रभातफेरि सामुदायिक भवन सिटीहलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । सडक दुर्घटना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जागृत गर्ने उद्देश्यले प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)सुमन अधिकारीले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त तत्ववधानमा कार्यक्रम आयोजना भएको जिल्ला प्रहरी प्रमुख(प्रहरी नायव उपरीक्षक)बेदप्रसाद गौतमले बताउनुभयो ।

कार्यक्रममा सडक दुर्घटना तथा सवारी दुर्घटना न्यूनीकरणका क्रममा सम्वन्धित पक्षले अपनाउनुपर्ने प्रक्रिया र शैली बारे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,प्रनाउ गौतम,प्रहरी निरीक्षक विवेक बस्नेत,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतम,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक तथा सवारी दुर्घटना न्यूनीकरणका बिभिन्न आयाम बारे जानकारी गराएको थियो । जिल्ला प्रहरी प्रमुख गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रजिअ शर्मा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,ताप्लेजुङ विद्युत वितरण केन्द्र प्रमुख सुरेशप्रसाद चौधरी सहितको उपस्थिति रहेको थियो ।

सवारी चालकको लापरबाही,ट्राफिक नियम पालना गर्नमा उदासीनता,चेतनाको कमी, मापदण्ड रहित सडक संरचना,सवारी साधनको खराब यान्त्रिक अवस्था जस्ता विषयहरू सडक तथा सवारी दुर्घटनाको मुख्य कारक रहेको पाइएको छ । यातायातमा संलग्न हुने जिम्मेवार पक्षले पर्याप्त ध्यान नदिनु पनि बढ्दो सवारी दुर्घटनाको कारण रहेको प्रहरीको बुझाई छ ।

ट्राफिक सप्ताह सम्पन्न भएपछि सवारी चालक, यात्रु,पैदल यात्री र सरोकारवाला सबैमा आ–आफ्नो जिम्मेवारी र दायित्वबोध हुने ट्राफिक प्रहरीको विश्वास छ । सडक सुरक्षा,ट्राफिक व्यवस्थापन,सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्नमा सरोकारवालाबिच समन्वय,सहकार्य एवम् साझेदारी प्रवद्र्धन हुनुका साथै सामूहिक भावनाको विकास हुने अनुमान गरिएको छ ।

Similar Posts