आठराई त्रिबेणीको शैक्षिक भेला:बिद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश नगराउने सहितका १२ बुँदे घोषणा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३१ । बिद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश नगराउने सहितका १२ बुँदे घोषणापत्र जारी गर्दै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको शिक्षा भेला सकिएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को अध्यक्षतामा भएको शिक्षा भेलाले पालिकाले निर्माण गरेका कानुन,शिक्षा ऐन,नियमावली,कार्यविधि र निर्देशिकाहरुलाई समायानुकुल परिमार्जन गर्ने,प्रचलित कानुन,ऐन र नियमावली बमोजिम बिद्यालयका प्रधान्यापकहरुको छनौट गरिने,शैक्षिक गुणस्तर बृद्धिका लागि योग्य र बिषयगत साथै प्रविधिमा दख्खल राख्ने शिक्षक छनौट गर्ने समेत घोषणा गरिएको छ ।
घोषणा अनुसार बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई बिद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि क्षमता अभिबृद्धि गरी प्रोत्साहित गरिने छ । गाउँपालिकाले शिक्षक तथा बिद्यालय कर्मचारीहरुको पेशागत सहयोग,सुपरीवेक्षण र निरीक्षण गरी असल शिक्षक तथा बिद्यालय कर्मचारीलाई उचित पुरस्कार तथा कानुन विपरित जानेलाई दण्डको व्यवस्था गर्ने घोषणा गरिएको छ । बिद्यालयहरुमा आर्थिक अनुशासन तथा पारदर्शीता कायम गर्न बिद्यालयको आन्तरिक तथा अन्तिम लेखा परीक्षणको व्यवस्था मिलाइने,बिद्यालय कर्मचारी,वाल विकास सहजकर्ता,शिक्षक र प्रधानाध्यापकहरुको क्षमता विकास कार्यक्रम कार्यान्वयनका साथै प्रभावकारी मापनको व्यवस्था मिलाउने समेत घोषणा गरिएको छ ।
शैक्षिक भेलाले अभिभावक सचेतना कार्यक्रम कार्यान्वयन गर्ने,बिद्यालय मातहत रहेको भौतिक,नगदी,जिन्सी तथा साझेदार संस्थामार्फत भएका कामको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने,९० प्रतिशत भन्दा माथि बिद्यालयमा हाजिर हुने बिद्यार्थी तथा अभिभावकलाई सम्मान गर्दै लैजाने र बिद्यालयमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक,शिक्षक,वाल विकास सहजकर्ता र बिद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दा माथि हाजिर भई पठनपाठनमा संलग्न भएको अवस्थामा शिक्षक दिवसको अवसर पारेर सम्मान तथा प्रोत्साहित गर्ने घोषणा गरेको छ ।