मैवाखोलाद्धारा आगामी आवको नीति तथा कार्यक्रम सभाबाट पारित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २९ । मंगलवार आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाको १७ औं गाउँसभाले बिहीबार उक्त नीति तथा कार्यक्रम पास गरेको छ ।
मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले गाउँसभामा मंगलवार पेश भएको नीति तथा कार्यक्रम बुधवार र बिहीबार छलफल पछि बिहीबारै पारित गरिएको जानकारी दिनुभयो । यसपटक मैवाखोलाले ताप्लेजुङका नौ स्थानीय तहमध्ये सबैभन्दा छिटो नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरी पारित पनि गरेको छ । अब नीति तथा कार्यक्रम अनुसार मैवाखोला गाउँपालिकाले सभामा बजेट ल्याउने छ ।
मैवाखोला गाउँपालिकाले मद्यपान,धुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने र बिद्यालयमा अनियमित तथा अराजक व्यवहार देखाउने शिक्षकलाई कारवाही गर्ने नीति ल्याएको थियो । मैवाखोला गाउँपालिकाको बजेट अधिबेशनमा मंगलवार आगामी आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विजयप्रकाश वनेमले थोरै बिद्यार्थी संख्या भएका पालिकाका बिद्यालयलाई एक आपसमा गाभ्ने देखि तह घटाउने सम्मको नीति प्रस्तुत गर्नु भएको थियो ।
पालिकाले शिक्षकहरुको दरबन्दी मिलान गरी अपुग भएका बिद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्ने,पूर्वाधार अभाव भएका बिद्यालयहरुमा पूर्वाधार थप तथा व्यवस्थापन गर्ने,शिक्षालाई पहिलो प्राथमिकतामा राखी गाउँपालिकालाई शिक्षा क्षेत्रमा नमूना पालिकाको रुपमा विकास गर्ने घोषणा समेत पालिका अध्यक्ष वनेमले आगामी आवको नीतिमार्फत प्रतिबद्धता जनाउनु भएको थियो । पालिकाले शिक्षाको गुणस्तर र नतिजामा सुधार ल्याई नन् ग्रेड उन्मुल बनाउने र सिकाई उपलब्धीका आधारमा वाल विकास देखि बिद्यालयको तहगत रुपमा उत्कृष्ट सिकाई उपलब्धी प्रदान गर्ने शिक्षकलाई सम्मान गर्ने नीति मैवाखोलालो घोषणा गरेको थियो ।
पालिकाले ‘हाम्रो उत्पादन,हाम्रो डाक्टर’अभियान अन्र्तगत ५ बर्षमा एक डाक्टर उत्पादन गर्ने र उनीमार्फत पालिकामा कम्तिमा ५ बर्ष सेवा गर्ने प्रवन्धको घोषणा समेत पालिकाले गरेको छ । पालिकाले सबै वडामा रहेका अधुरा खेल मैदानलाई पूरा गर्ने देखि युवाहरुलाई प्राथमिकतामा राखी स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने गरी गरेको नीतिलाई सभालाई पारित गरेपछि अब नीति अनुसार बजेट बनाउन मैवाखोलालाई बाटो खुलेको छ ।