ताप्लेजुङ जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषित

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २८ । ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङद्वारा बुधबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
एक नगरपालिका र आठ गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा भएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो । पूर्णखोप जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयका कोल्चेन निरीक्षक दिनेश रायले जिल्लाको खोप गतिविधिबारे प्रस्तुति राख्नुभएको थियो ।
कोल्चेन निरीक्षक रायका अनुसार गतवर्ष जिल्लाभरका सात हजार १२ जना लक्षित बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् । उक्त सङ्ख्यामध्ये जन्मेर १५ महिना सम्मका शिशु एक हजार ७०४ जना र १६ देखि ५९ महिना सम्मका पाँच हजार ३०८ जना रहेको उहाँले जानकारी दिनुभयो । लक्षित सबै शिशु तथा बालबालिकालाई आवश्यक खोपको मात्रा लगाएसँगै पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्न सम्भव भएको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
यता जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा पूर्णखोप अभियानका लागि महत्वपूर्ण योगदान गर्ने प्रत्येक पालिकाका एक–एक वटा स्वास्थ्य संस्थालाई नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा फुङ्लिङ नगरपालिकाको दोखु स्वास्थ्य चौकी, सिदिङ्वा गाउँपालिकाको सुरुम्खिम स्वास्थ्य चौकी रहेका छन् । मेरिङ्देन गाउँपालिकाको मास्रिङ स्वास्थ्य चौकी थुकिमा, आठराई त्रिबेणीको चाँगे स्वास्थ्य चौकी, मैवाखोला गाउँपालिकाको ढुंगेसाँघु स्वास्थ्य चौकी, सिरिजंघा गाउँपालिकाको मामाङ्खे स्वास्थ्य चौकी पुरस्कृत भएको छ ।
त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु स्वास्थ्य चौकी, मिक्वाखोखा गाउँपालिकाको खोक्लिङ स्वास्थ्य चौकी र फक्ताङ्लुङ गाउँपालिकाको तापेथोक आधारभूत अस्पताल पुरस्कृत भएको छ । यसैगरी पूर्णखोप अभियानमा सूचकका आधारमा तीन वटा स्थानीय तहलाई उत्कृष्ट पालिका घोषणसमेत गरिएको छ । उत्कृष्ट पालिकामा आठराई त्रित्रेणी गाउँपालिका प्रथम, फक्ताङ्लुङ गाउँपालिका दोस्रो र मैवाखोला गाउँपालिका तेस्रो भएको छ ।
सम्मानित तथा पुरस्कृत हुने स्वास्थ्य संस्थाहरुलाई जिल्ला समन्वय समिति उपप्रमुख लिङ्खिम, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसी, सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत पशुपति खनाल, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि डा. संगीता शाह, वडाध्यक्षसहितका जनप्रतिनिधि, अन्य कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।