काबेली बी–१ र क्यासकेट आयोजनाको उत्पादन सुचारु

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २७ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली खोलाबाट उत्पादित काबेली बी–१ र काबेली बी–१ क्यासकेट जलविधुत आयोजनाको उत्पादन सुचारु भएको छ । आयोजनाको आन्तरिक कामका कारण बन्द भएको पाँच दिनपछि उत्पादन सुचारु भएको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा उत्पादित २५ मेवागाट क्षमताको काबेली बी–१ जलविधुत आयोजना र १० मेगावाट क्षमताको काबेली बी–१ क्यासकेट जलविधुत आयोजनाको उत्पादन मंगलबार बिहानदेखि सुचारु भएको हो । आयोजनाको आन्तरिक काम सम्पन्न भएपछि दुवै आयोजनाको उत्पादन एकसाथ सुरु भएको कम्पनी लिमिटेडका सम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो ।
सम्पर्क अधिकृत सुवेदीका अनुसार गएको बिहीबारदेखि आयोजनाको उत्पादन बन्द भएको थियो । विधुत गृहमा रहेको उपकरण मर्मतलगायत आन्तरिक काम गर्नुपर्ने भएकाले काबेली बी–१ र क्यासकेट दुवै आयोजनाको उत्पादन बन्द गरिएको थियो । काबेली बी–१ जलविधुत आयोजनाको उत्पादन २०७६ र काबेली बी–१ क्यासकेट जलविधुत आयोजनाको उत्पादन २०७८ सालदेखि सुरु भएको हो ।