ताप्लेजुङका नौ पालिकाका उत्कृष्ट किसान सम्मानित,खाद्य सुरक्षामा ध्यान दिन आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले यहाँका नौ स्थानीय तहका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख बिमला पोखरेलका अनुसार सम्वन्धित स्थानीय तहको सिफारिस एवम् उत्कृष्ट किसान छनौट समितिको मार्गर्दशन अनुुसार प्रत्येक पालिकाका एक–एकजना किसानलाई पुरस्कृत गरिएको हो । पोखरेलका अनुसार पुरस्कृत हुनेमा फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की,पाथीभरा याङवरक गाउँपालिकाका सन्तोष खिम्दिङ,फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की,सिरिजङ्गा गाउँपालिकाका छत्रमान कुँवर रहेका रहनु भएको छ । पुरस्कृतहरुमा मिक्वाखोला गाउँपालिकाका डम्बरबहादुर बस्नेत,मैवाखोला गाउँपालिकाका छत्रबहादुर लिम्बू,सिदिङ्वा गाउँपालिकाका इन्द्रबहादुर लिम्बू,मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङवाङ र आठराई त्रिबेणी गाउँपालिकाका शंकरनारायण श्रेष्ठ समेत हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम तथा कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेलले पुरस्कृत किसानहरुलाई नगद,प्रमाण–पत्र तथा दोसल्लाले सम्मान गर्नु भएको छ । पुरस्कृत किसानहरुले राज्यले आफ्नो मेहनेत र व्यावसायिक कृषि प्रणालीप्रति गरेको सम्मानले आफुहरुलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न अभिप्रेरित गरेको बताउनुभयो । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर उत्कृष्ट किसान सम्मान कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी शशीकुमार सिंहले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेलले खाद्य स्वच्छता कायम गर्न सरोकारवालको भूमिका बारे कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । सन् २०१८ को भएको संयुक्त राष्ट्रसंघको ७३ औं महासभाले अनुमोदन गरे अनुसार सन् २०१९ बाट हरेक बर्ष जुन ७ तारेखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ । यसबर्षको नारा ‘खाद्य पदार्थमा स्वच्छता,विज्ञानको अपरिहार्यता’ रहेको थियो । मानव उपभोगका लागि तयार भएका खाद्य पदार्थले कुनै पनि प्रकारको प्रतिकुल असर गर्दैन भने त्यो खानेकुरालाई स्वच्छव मानिन्छ । उपभोग्य बस्तु सुरक्षित र स्वच्छव छन् की छैनन् भन्ने कुरा खाद्य पदार्थको उत्पादन,भण्डारण र प्याकेजिङमा समेत भरपर्ने भएकोले मानिस यस कुरामा ध्यान दिनुपर्ने कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेल बताउँनुहुन्छ । भौतिक जोखिम,रसायनिक जोखिम,जैविक जोखिम,दुशित पानी समेतले खाद्य पदार्थमा स्वच्छवता हटाउन भूमिका खेल्ने उहाँले बताउनुभयो ।
व्यक्तिगत सरसफाईले समेत खाद्य पदार्थ स्वच्छव बनाउन महत्वपूर्ण सावित हुने पोखरेको भनाई छ ।‘खुट्टामा लगाउने जुत्ता सोकेसमा राख्ने बेच्ने तर मानिसले खाने खाद्य पदार्थ हिलो वा धुलोमा राखेर खरिद बिक्री गर्नुुपर्ने अवस्था हटाउन जिम्मेवार पक्ष सचेत हुनुपर्छ’खाद्य पदार्थको असुरक्षाप्रति चिन्ता जनाउँदै पोखरेलले भन्नुभयो । उहाँले क्रेताले समेत उपभोक्ता अधिकारप्रति सचेत हुनुपर्ने बताउँदै उत्पादन मिति,उपभोग्य मिति र खुद्रा मूल्य किटान भएका तथा ऐन बमोजिम तोकिएका रंग बाहेक अरु रंग प्रयोग नभएका,ढुसी र सडेगलेका खाद्य पदार्थको खरिद तथा उपभोग नगर्न सुझाउनु भएको छ ।
खाद्य पदार्थ आफैंमा पत्रु खाना(जंक फुड) हुनै नसक्ने बताउँदै पोखरेलले अस्वस्थ्य खाद्य व्यवहारले खानालाई पत्रु अर्थात् जंक फुडमा रुपान्तरण गर्ने जानकारी दिनुभयो । स्वस्थ्य जीवनशैलीका लागि क अर्थात् कसरत,ख अर्थात् खुराकी वा खाना र ग अथात् गन्तव्य सुरक्षित र स्वस्थ्य हुनुपर्ने उहाँको भनाई छ । स्वस्थ्य जीवनका लागि मानिसको दैनिक आहारविहार र जीवनशैली प्रमुख कारण हुने पोखरेलको भनाई छ । जानकारहरुका अनुसार खानेकुराकै कारणले मानिसमा करिव दुईसय भन्दा बढी रोगहरु लाग्न सक्छन् । दुषित खानाका कारण प्रत्येक १० मध्ये एक व्यक्तिले बर्षेनि जीवन गुमाईरहेका छन् । दुषित र अस्वस्थ्यकर खानका कारण प्रत्येक बर्ष विश्वमा ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क रहेको छ ।