| |

बज्रगुरु मन्त्र जपबाट ३४ लाख बढी रकम बचत

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङमा गत चैत महिनामा आयोजित बज्रगुरु मन्त्रजप पूजाबाट चैतीस लाख रुपियाँ बढी रकम बचत भएको छ । ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम आयोजक समितिले आयव्यय सार्वजनिक गर्दै उक्त रकम बचत भएको जनाएको हो ।
समितिले बुधबार सार्वजनिक गरेको आयव्यय विवरणअनुसार गत चैत २३, २४ र २५ गते तीन दिन सञ्चालित छैटौं बज्रगुरु मन्त्रजप पूजाबाट कुल ३४ लाख ४६ हजार ५७३ रुपियाँ बचत भएको छ । उक्त मन्त्रजपमा विभिन्न संघ संस्था, निकाय तथा दाताबाट कुल ५५ लाख २१ हजार ३३५ रुपियाँ रकम संकलन भएको थियो । संकलित रकममध्येबाट मन्त्रजप पूजा सम्पन्न गर्न २० लाख ७४ हजार ७६२ रुपियाँ खर्च भएको समितिका सदस्यसचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार मन्त्रजपमा भएको खर्च कटाएर उक्त रकम बचत भएको हो । बचत अर्थात बचेको रकम समितिको बैंक खातामा मौज्दात रहेको पनि सदस्यसचिव शेर्पाले जानकारी दिनुभयो । बौद्धमार्गीहरुले मानव एकता र विश्व शान्तिको कामना गर्दै धार्मिक पूजा बज्रगुरु मन्त्रजप शनिबार आयोजना गर्ने गरेका छन् ।
वि. सं. २०७३ सालबाट सुरु भएको बज्रगुरु मन्त्रजप पूजाको हालसम्म छैटौं संस्करण सम्पन्न भइसकेको छ । यता मन्त्रजप पूजा आयोजना गर्न निकै खर्चालु हुने भए पनि दाता दानबिरबाट राम्रै आर्थिक सहयोग संकलन हुने गरेको पाइएको छ ।

Similar Posts